प्रधानमन्त्री ओलीले ‘एक्सन रुम’बाट गरे आयोजनाको अनुगमन

काठमाडौँ, कात्तिक ६ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको काम तोकिएको समयअघि नै सम्पन्न गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई सचेत गराएका छन् । प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रिय गौरवको आयोजनाहरुको काम गौरव गर्न लायक हुनेगरी सम्पन्न गर्न पनि समयभित्रै सम्पन्न गर्नुपर्नेतर्फ सम्बन्धित मन्त्री, विभाग र आयोजना प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको एक्सन रुमबाट ६ वटा राष्ट्रिय गौरवको आयोजनाहरुको कामको प्रगति विवरण लिँदै त्यसको काममा तीव्रता दिन पनि प्रधानमन्त्री ओलीले मातहतका आयोजना प्रमुखहरुलाई निर्देशन दिए ।प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजनाहरुको कामलाई तोकिएको समय अघि नै सम्पन्न गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएको उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले जानकारी दिए ।
प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले पोखरा अन्तराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग, माथिल्लो तामाकोसी जलविद्युत आयोजना, सिक्टा सिँचाई आयोजना र भेरी–डाईभर्सन सिचाई आयोजनासहित ६ वटा राष्ट्रिय गौरवका आयोजनाहरुको कामको प्रगतिविवरणबारे जानकारी लिएका थिए ।कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पुन, अर्थमन्त्री डा. युवराज खतिवडा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई तथा सम्बन्धित मन्त्रालयका सचिवहरु सहभागी थिए ।



तपाइँको प्रतिक्रिया