जेसीज विकास रनिङ शिल्ड : सरस्वतीबिरुद्द पुलिसको फराकिलो जित
चितवन, कार्तिक १ – नारायणगढको क्याम्पा चौरमा जारी चितवनकै सर्वाधिक धनराशीको ‘टुबोर्ग जेसीज विकास रनिङ शिल्ड फुटबलमा बिभागीय टोली नेपाल प्रहरीले फराकिलो जित हात पारेको छ । प्रतियोगिता अन्तर्गत आज (शुक्रबार) सम्पन्न खेलमा पुलिसले सरस्वती युवा क्लब काठमाडौंलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो ।
पुलिसको जितमा सुमन लामाले ह्याट्रिक गरे । यस्तै निर कुमार राई र हेम तामाङले समान एक-एक गोल गरे । सरस्वतीबिरुद्द पुलिसले खेलको पहिलो मिनेटमा नै अग्रता लिएको थियो । उसका लागि सुमान लामाले सुरुवाती गोल गरेका थिए । पहिलो हाफमा नै पुलिसले अग्रता दोब्बर बनायो । खेलको २४ औं मिनेटमा निर कुमार राईले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा २ गोल गरेको पुलिसले दोस्रो हाफमा थप ३ गोल गर्यो । दोस्रो हाफको आठौं मिनेटमा गोल गर्दै हेम तामाङले पुलिसलाई ३-० को अग्रता दिलाए । ३३ औं मिनेटमा सुमनले ब्यक्तिगत दोस्रो तथा टिमको लागि चौथो गोल गरेपछी पुलिसले ४-० को अग्रता बनायो । ३९ औं मिनेटमा सुमनले ह्याट्रिक पुरा गर्दै पुलिसलाई ५-० को जित दिलाए । खेलको म्यान अफ द म्याच पुलिसको जितमा ह्याट्रिक गरेका सुमन लामा घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।
यो जित सँगै पुलिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत भोली (शनिबार) हुने खेलमा बिभागीय टोली शशस्त्र प्रहरीको एपिएफ र झापा ११ भिड्ने प्रचार प्रसार समिती संयोजक सुर्यभक्त अधिकारीले जानकारी दिए ।
नारायणगढ जेसीजले आयोजना गर्ने जेसिस कप र विकास शिल्ड समितिले आयोजना गर्ने ‘विकास रनिङ शिल्ड’ लाई मर्ज गरेर नारायणगढ जेसिजले आयोजना गरेको प्रतियोगिताको विजेताले ६ लाख ६ हजार ६६ रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ३ हजार ३३ रुपैयाँमा चित्त बुझाउनेछ । यस्तै म्यान अफ द म्याच र अन्य बिभिन्न बिधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
तपाइँको प्रतिक्रिया