चितवनमा पर्यटकको वास्तविक तथ्यांँकको अभाव

सूर्यप्रसाद अधिकारी, कात्तिक १, चितवन । तेस्रो पर्यटकीय गन्तव्य चितवनमा वैज्ञानिक रुपमा तथ्यांक राख्न नसक्दा एकीन पर्यटक आगमनको तथ्यांक राख्न सकिएको छैन । स्थानीय सरकार, सामुदायिक वन र पर्यटन व्यवसायी वीच समन्वयको अभावका कारण चितवनमा कति पर्यटक आउंँछन भन्ने तथ्यांकको अभाव छ । निकुञ्ज घुम्न आउने पर्यटकको तथ्यांक निकुञ्जले राख्दै आएपनि निकुञ्ज बाहेकका पर्यटकीय गन्तव्य स्थलमा जाने पर्यटकको अभिलेख राख्न सकिएको छैन ।
क्षेत्रीय होटल संघ , सौराहाका अध्यक्ष दिपक भट्टराई सौराहा आउने पर्यटकको अभिलेख हालसम्म राख्न नसकिएको बताउंँछन । जसका कारण पर्यटन सम्बन्धी नीति नियम र योजना समेत बनाउन अप्ठेरो परेको छ । ‘चितवनमा सौराहा लगायत अन्य पर्यटकीय गन्तव्य जाने पर्यटकको अभिलेख छैन,उनले भने, हालसम्म निकुञ्ज आउने पर्यटकको संख्यामा भर पर्नु परेको छ ।’
सौराहा लगायत , पश्चिम क्षेत्रको पटिहानी , मेघौली लगायत त्यहांँ रहेका सामुदायिक वन जस्ता पर्यकीय क्षेत्रमा समेत तथ्यांक राख्ने अभ्यास नरहेको उनले बताए । रेष्टुरेन्ट एण्ड बार एशोशियसन, नेपाल(रेवान)का पूर्व अध्यक्ष गोर्कण गीरी यस बिषयमा स्थानीय सरकारसंँग समन्वय गर्नुपर्ने बताउंँछन । ‘हामीले सौराहा छिर्ने प्रवेशद्धारमै पर्यटक प्रवेशको अभिलेख राख्ने प्रस्ताव राखेका हौं, उनले भने तर कार्यन्वयन अझै गर्न सकिएको छैन ।’ उनका अनुसार सम्बन्धित सरोकारवालामा छलफलको काम भएपनि कार्यान्वयनमा आउन नसकेको हो । चितवनमा आउने अधिकांश पर्यटक निकुञ्जमा जादैनन । बाह्य पर्यटकले निकुञ्जमा जंगल सफारी गरेपनि कतिपय पर्यटक निकुञ्ज नजाने गरेको उनले बताए ।
स्थानीय सरकारले पनि यस बिषयमा पटक पटक छलफल राखेपनि यसको कार्यन्वयन नहुंँदा चितवनमा कति पर्यटक आए गए त्यसको लेखा जोखा राख्न सकेको छैन । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन पर्यटक प्रर्वद्धन र नीति निर्माणको लागि पर्यटकको एकीन तथ्यांक राख्न आवश्यक रहेको बताउंँछन । ‘नेपाल भ्रमणबर्ष २०२०मा सौराहामा १० लाख पर्यटक भित्रयाउने लक्ष लिएका छौं,उनले भने, यसका लागि पनि तथ्यांक राख्नुपर्ने हुन्छ’।



जिल्लाका सामुदायिक वनहरुमा पर्यटकीय गतिविधि हुने गरेपनि अधिकांश सामुदायिक वनले पर्यटकको तथ्यांक राखेका छैनन । निकुञ्ज नजिक रहेका मध्यवर्ती सामुदायिक केही वनले टिकटको आधारमा पर्यटकको तथ्यांक राख्ने गरेका छन । सौराहा नजिकैको कुमरोज सामुदायिक वनमा दैनिक जीप सफारी , डुंगा सफारी एवं पैदल सफारीको लागि तथ्यांक राख्ने गरेको वनका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो तथ्यांक कार्यालय प्रयोजनको लागि लिइने गरेको तर कुनै निकायलाई तथ्यांक दिनु नपरेको उनले बताए । निकुञ्जको तथ्यांक अनुसार गतबर्ष १ लाख ८७ हजार पर्यटक निकुञ्ज भित्र सफारी गरेपनि बाहिर कति पर्यटक आए भन्ने तथ्यांक कुनै निकाय सँग छैन । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरे चितवनमा आउने कुल पर्यटकको अभिलेखको लागि अलग्गै संयन्त्र बनाउनु पर्ने बताउंँछन । यसका लागि स्थानीय सरकार, होटल संघ, सामुदायिक र निकुञ्जको संयुक्त प्रयासमा मात्र चितवमा आउने पर्यटकको एकिन तथ्यांक आउने उनको भनाई छ ।
हाल सौराहामा मात्रै साना ठुला होटल गरी १ सय १० होटल र ८० वटा रेष्टुरेण्ट रहेका छन जहांँ दैनिक ८ हजार पर्यटक बस्न सक्ने क्षमता छ । पश्चिम क्षेत्रका पटिहानी र मेघौली क्षेत्रका पर्यटकीय गन्तव्यमा दुईदर्जन अन्तराष्ट्रिय स्तरका होटल रहेका छन ।
तपाइँको प्रतिक्रिया