सी भ्रमणबारे बहस : काँग्रेसले भन्यो, ’ऋण लिएर रेल बनाउन आवश्यक छैन’

काठमाडौं, असोज २३ – चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको वैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसले सीको भ्रमणमा ऋण लिएर रेल बनाउने एजेण्डालाई प्राथमिकता नदिन सरकारलाई आग्रह गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले ऋण लिएर रेल बनाउन नहुने बताएका हुन् । ‘रेल आउने कुुरामा हाम्रो विरोध होइन, बनोस्’ बैठकमा सहभागी पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘हाम्रो लगानी प्राथमिकता होइन ।’
काठमाडौं केरुङ रेलमार्गमा धेरै लगानी चाहिने र यो नेपालले ऋण लिएर गर्न नसक्ने कांग्रेसले बताएको छ । ‘नेपाल र चीनबीच जुन स्तरको व्यापार र आवात जावत छ, यसले वर्षौसम्म लगानी फिर्ता हुने सम्भवना छैन’, महत भन्छन्, ‘यदि चीन र भारतले ब्यापारका लागि प्रयोग गरे मात्र यो रेल फिजिवल हुन्छ ।’
त्यसैले काठमाडौं केरुङ रेलमार्ग अनुदानमा बनाइदिन आग्रह गर्नुपर्ने कांग्रेसले बताएको छ । भारतले बनाउने भनेको रक्सौल काठमाडौं रेलमार्ग पनि अनुदानमा नै बनाउनुपर्ने भन्दै महत भन्छन्, ‘रेलमा हामीले अनुदान नीति रोज्नुपर्छ ।’सहुलियतपूर्ण ऋणमा सडक कनेक्टिभिटीलाई प्राथमिकता दिनुपर्ने कांग्रेसले बताएको छ ।
रसुवागढी काठमाडौंमा सुरुङमार्गसहित सडक विस्तार गर्ने तथा चीनसँग जोड्ने अरु नाकाहरुलाई पनि सडकले जोड्नुपर्ने बताएको छ ।सहुलियतपूर्ण ऋणमा पनि विश्व बैंक, एसियाली विकास बैंकहरुले जस्तै १० प्रतिशतभन्दा कम ब्याज र ४०/५० वर्षसम्म तिर्दा हुने गरी समयावधी राख्नुपर्ने कांग्रेसको सुझाव छ ।
कांग्रेसले ब्यापार घाटा कम गर्न नेपालमा चिनियाँ लगानी बढाउनुपर्ने र नेपालबाट निर्यात हुने वस्तुहरुमा शून्य भन्सारका लागि पहल गर्न सरकारलाई सुझाव दिएको छ ।
तपाइँको प्रतिक्रिया