आज महानवमी पर्व, दुर्गा भवानीको पूजा आराधना गरी मनाइदै
असोज २०, काठमाडौं । बडा दशैंको नवौं दिन सोमवार महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइदैछ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार आश्विन शुक्ल नवमीका दिनमा चामुण्डा देवीले रक्तबीज राक्षसलाई मारेकाले (वध गरेकाले) महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।
महानवमी पर्वमा दशैंघर र कोतलगायत देशभरका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमददेवीभागवत एवं देवी स्तोत्र पाठ गर्ने प्रचलन रहेको छ । कतिपय शक्तिपीठमा भने हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ । पशुबलि नदिनेले भने आ–आफ्नो कुल परम्पराअनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।
महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जंगी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । सोमवार बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइएको छ । महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलिसहित पूजा गर्ने गर्छन् ।
तपाइँको प्रतिक्रिया