कैदीबन्दीको गुनासो : राज्यले दसैँ खर्च बढाउनुपर्ने
चितवन,असोज १७ – हिन्दु नेपालीको घरघरमा हर्ष उल्लासका साथ मनाइरहेको दसैँ अहिले कारागारमा रहेका कैदीबन्दीलाई भने कसरी मनाउने भन्ने समस्याले पिरोलेको छ । उनीहरुका लागि राज्यले दसैँ खर्च भनेर रु ३०० प्रतिव्यक्ति दिने गरेको छ । राज्यले दिने रु ३०० ले दसैँका लागि केही पनि नहुने कैदीबन्दीको गुनासो छ ।
विगत १४ वर्षदेखि गैँडा मुद्दामा कैद सजाय भोग्दै आएका राम विहारी चौधरीले सरकारले शुरुदेखि नै दिने गरेको दसैँ खर्चले आफूहरुलाई एक छाक मीठो मसिनो खान पनि नपुग्ने गुनासो गरे । उनले भने, “महङ्गी बढेको छ, राज्यले लामो समयदेखि कैदीबन्दीको दसैँमा दिने खर्च बढाएको छैन, यसले के किन्नु र के खानु ?” यस्तै गुनासो विगत सात वर्षदेखि कैद सजाय भोग्दै आएका पदमबहादुर प्रजाले पनि गरे ।
राज्यले अहिलेको महङ्गीअनुसार कैदीबन्दीको दसैँ खर्च पनि बढाउनुपर्ने उनको भनाइ छ । उनले भने, “एक किलो कुखुराको मासुलाई रु ३२० पर्छ, हामीलाई दसैँ खर्च रु ३०० आउँछ । यसले के गर्ने ?” कारागारमा रहेका सबै जना मिलेर हुनेले धेरै र नहुनेले थोरै रकम जम्मा गरी दशैँ मनाउँदै आएका उनको गुनासो छ । विगत आठ वर्षदेखि कैद जीवन बिताउँदै आएका अमृत गुरुङलाई दसैँ कसरी के गरेर मनाउने भन्ने पिरलो छ ।
मुख्य नाइकेको जिम्मामा काम गर्दै आएका गुरुङ भित्र रहेका सबैलाई खुशी बनाउने भन्दै दौडधूपमा छन् । राज्यले व्यवस्था गरेको रकमले टीका थाप्न आउनेलाई टेन्ट राख्ने र टीकाका सामग्री जुटाउनमा नै खर्च हुने उनको भनाइ छ । अहिले कारागार प्रशासन, कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र कैदीबन्दीको आन्तरिक व्यवस्थापनले कैदीबन्दीलाई रमाइलो गरी दसैँ मनाउन सहयोग गरिरहेका छन् । दसैँका लागि आवश्यक खाद्यवस्तुको बन्दोबस्त भइसकेको गुरुङले जानकारी दिए ।
कार्यालयमा फूलपातीदेखि दसैँ लाग्ने गर्दछ । फूलतापतीका दिन सबै मिलेर रमाइलोका साथ फूलपाती भित्र्याउने र राँगा काट्ने गरिन्छ भने अष्टमीमा खसी र कुखुरा काट्ने गरिन्छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले राज्यले दिएको सिदाबाहेकको दसैँ खर्चले कैदीलाई केहीमात्रामा राहत भएको भए पनि पूर्ण भने नभएको बताए ।
उनीहरुबाटै रकम सङ्कलन गरेर आन्तरिकरुपमा व्यवस्थापन गरी दशैँमा कैदी तथा बन्दीको दसैँ भने राम्रो हुने उनको भनाइ छ । दुई सय ५५ पुरुष र २५ महिला कैदीबन्दीको क्षमता रहेको भरतपुर कारागारमा ७६२ कैदीबन्दी छन् । तीमध्ये ६८ जना महिला र ६९१ पुरुष कैदीबन्दी छन् । कारागारमा आमासँगै तीन नाबालक छन् । रासस
तपाइँको प्रतिक्रिया