सुर्ती सेवनको कारण नेपालमा २७ हजार मानिसको ज्यान गयो
काठमाडौं,असोज १७ – नेपालमा सुर्ती सेवनको कारण २७ हजार मानिसको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनका कन्ट्री रिप्रिजेन्टिटेटिभ डा. जोस भेन्डेलरले नेपालमा सुर्ती सेवनकै कारण बर्सेनि २७ हजार १ सय ३७ जनाको ज्यान गएको जनाए । उनका अनुसार सुर्तीका कारण १० वर्षअघि १६ हजारको मात्र मृत्यु भएको थियो भने अहिले एकाएक २७ हजार पुगिसकेको छ । नेपालमा कानुनभन्दा सामाजिक मूल्यमान्यताले काम गर्ने भएकाले सुर्ती नियन्त्रणका लागि सामाजिक अभियान चलाई सुर्ती खानुहुँदैन भने संस्कार बसाउनुपर्ने तर्फ उनको जोड छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव पुष्करराज नेपालले लगभग ३१ प्रतिशत नेपालीले सुर्ती सेवन गर्ने गरेको र मृत्युको १७ प्रतिशत प्रमुख कारण सुर्ती रहेको छ । ९० लाख सुर्ती सेवनकर्ता नेपालीमध्ये १० लाखलाई जोखिमपूर्ण दीर्घ रोग रहेको पनि उनले जानकारी दिए ।
सुर्ती प्याकेटमा पूरै ढाकिने गरी रंगीन चित्र राख्नुपर्ने र ब्रान्डको नाम सबैभन्दा सानो अक्षर बनाउनतिर विश्वको ध्यान जानुपर्ने उनले बताए । नेपालमा अन्तर्राष्ट्रिय कानुन र राष्ट्रिय कानुनविपरीत खुला रूपमा सुर्ती बेचबिखन हुने गरेको छ । सुर्ती सेवनमा मात्रै नेपालीले वार्षिक ४७ अर्ब रुपैयाँ खर्च गरिरहेको छ।
तपाइँको प्रतिक्रिया