अन्तर्राष्ट्रिय चितवन भेटेरान कप : ४ टोली क्वाटरफाइनलमा

चितवन, असोज ४ – चितवनमा आज (शनिबार) बाट शुरु भएको ‘प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फुटबल’ को पहिलो दिन चार खेल सम्पन्न भएको छ । आज सम्पन्न ४ खेलबाट जित हात पार्दै चार टोली क्वाटरफाइनल प्रवेश गरेका छन् ।
प्रतियोगिता अन्तर्गत आज बिहान सम्पन्न उद्घाटन खेलमा आयोजक चितवन (निलो) ले हेटौंडा भेटेरानलाई ३-१ गोल अन्तरले पाखा लगायो । प्रतिस्पर्धात्मक खेलमा अग्रता भने हेटौंडाले लिएको थियो । खेलको १४ औं मिनेटमा नै हेटौंडाले प्रशान्त पाख्रिनको गोलबाट अग्रता लिएको थियो । त्यस अघी चितवनले पाएको केही अवसर खेर फालेको थियो । तर चितवनले हेटौंडाको अग्रता धेरै बेर टिक्न दिएन । २४ औं मिनेटमा चितवनका लागि राजकुमार श्रेष्ठले गोल गर्दै खेल १-१ को बराबरीमा पुराए ।
दोस्रो हाफमा चितवनले आक्रमक खेल प्रस्तुत गर्दै थप २ गोल गर्यो । त्यस अघी दोस्रो हाफमा नै चितवनले पेनाल्टी खेर फाल्यो । हेटौंडाका डिफेन्डरले चितवनका खेलाडीलाई डि बक्स भित्र लडाए पछी रेफ्रीले पेनाल्टी दिएका थिए । तर बिनोद लामाले प्रहार गरेको पेनाल्टी बारमा लागेर फर्कियो ।



दोस्रो हाफको २३ औं मिनेटमा चितवनले अग्रता लियो । बिनोद लामाको पासमा मदन दराईले सुन्दर गोल गर्दै चितवनलाई २-१ को अग्रता दिलाए । लगत्तै २७ औं मिनेटमा चितवनले तेस्रो गोल गर्यो । चितवनका कप्तान बिरेन्द्र पाण्डेको पासमा लेखराम गुरुङले गोल गर्दै चितवनलाई ३-१ को अग्रता दिलाए ।
अन्त्य तिर हेटौंडाले खेलमा फर्किने प्रयास गरेपनी गोल गर्न सकेन र ३-१ ले पराजित भयो । खेलको म्यान अफ द म्याच चितवनका मदन दराई घोषित भए । जित सँगै चितवन निलो क्वाटर फाइनलमा प्रवेश गरेको छ । उसले अब सेमिफाइनल प्रवेशका रोयल भेटेरान दार्जिलिङको सामना गर्नेछ ।
आज सम्पन्न दोस्रो खेलमा रुपन्देही भेटेरान ११ बुटवलले सानो गौचरन काठमाडौंलाई ३-१ ले पराजित गर्यो । रुपन्देहीका लागि जङ्ग बहादुर थारुले पहिलो हाफको १९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । पहिलो हाफको खेल १-० मा सकियो ।
दोस्रो हाफमा रुपन्देहीले थप २ गोल गर्दा सानो गौचरनले एक गोल गर्यो । दोस्रो हाफको १३ औं मिनेटमा जोर सिंह रानाले गोल गर्दै रुपन्देहीको अग्रता दोब्बर बनाए । लगत्तै १६ औं मिनेटमा ढक बहादुर थापाले गोल गर्दै रुपन्देहीलाई ३-० को अग्रता दिलाए ।दोस्रो हाफको २७ औं मिनेटमा रुपन्देही ८ खेलाडीमा सिमित भयो । उसका गोलरक्षक बिष्णु पौडेलले सानो गौचरनका खेलाडीलाई फउल गरेपछी रेफ्रीले उनलाई रातो कार्ड दिए । खेल सकिन १ मिनेट बाँकी रहदा उज्वल श्रेष्ठले सानो गौचरनको लागि गोल गरे पनि टोलीको हार भने टार्न सकेनन् । खेलको म्यान अफ द म्याच रुपन्देहीका जोर सिंह राना घोषित भए । रुपन्देहीले सेमिफाइनल प्रवेशका लागि झापा भेटेरान ११ को सामना गर्नेछ ।
यस अघी आजै सम्पन्न तेस्रो खेलमा बि.बि सि भेटेरान बनेपालाई ४-० ले पराजित गर्दै झापाले पनि क्वाटरफाइनलमा स्थान बनाएको छ । झापाको लागि सन्तोष बस्नेतले पहिलो हाफको १२ औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा लक्ष्मी बहादुर लिम्बुले गोल गर्दै झापाको अग्रता दोब्बर बनाए ।
खेलको ३६ औं मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो गोल गरेपछी झापाले ३-० को अग्रता लियो । ४४ औं मिनेटमा हर्क गुरुङले गोल गरेपछी झापा ४-० ले बिजयी भयो । खेलको म्यान अफ द म्याच झापाको लागि २ गोल गरेका सन्तोष बस्नेत घोषित भए ।
यस्तै आजको अन्तिम खेलमा रोयल भेटेरान दार्जिलिङले अभिषेक चर्च रजहरलाई २-० ले स्तब्ध बनायो । अभिषेक चर्च बिरुद्द दार्जिलिङले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । दार्जिलिङको जितमा सागर घोषले खेलको २१ औं मिनेट तथा पाल्देन भुटिया पिटरले खेलको २२ औं मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच दार्जिलिङका पिटर घोषित भए । दार्जिलिङले अब सेमिफाइनल प्रवेशका लागि आयोजक चितवन निलोको सामना गर्नेछ ।
प्रतियोगिता अन्तर्गत भोली (आइतबार) पनि ४ खेल हुनेछ । भोली हुने पहिलो खेलमा बिहान ७ बजे नाइट क्लब काठमाडौं र नवलपुर भेटेरान नवलपुर तथा बिहान ८ बजे हुने खेलमा बगरभाई खलक पोखरा र टि बर्गर ललितपुर भिड्नेछन् । यस्तै भोली दिउँसो ३ बजे देहरादुन एफ सि भारत र कैलाली भेटेरान कैलाली तथा अपरान्ह ४ बजे आयोजक चितवन भेटेरान रातो र युथ एकेडेमी बिरगंज भिड्नेछन् ।
असोज ७ गते सम्म सन्चालन हुने प्रतियोगितामा नेपालको १२ र २ बिदेशी गरी कुल १६ क्लबहरुले सहभागीता जनाउनेछन् । सहभागी क्लबहरुलाई २ समुहमा बिभाजन गरिएको छ । दुबै समुहबाट चार-चार टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । सहभागी अधिकांश टिमहरुमा पुर्व राष्ट्रिय खेलाडीहरु रहेका छन् ।
प्रतियोगिताको बिजेताले नगद रु १ लाख ११ हजार १ सय ११ सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपबिजेताले ५० हजार ५ सय ५५ रुपैँयामा चित्त बुझाउनेछ । प्रत्येक दिन म्यान अफ म्याचले एक हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोल कर्ताले नगद ५-५ हजार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिता भरको उत्कृष्ट खेलाडीले १० हजार रुपैया प्राप्त गर्ने आयोजक चितवन भेटेरान फुटबल क्लबका अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया