सामुदायिक वनभित्र पहिलो पटक भोलीदेखी चितवनको जलदेवी सामुदायिक वनमा ‘जीप लाइन’ सफारी

चितवन, भाद्र ३१ – भरतपुरको आँपटारीमा रहेको जलदेवी सामुदायिक वनमा भोली (बुधबार) बाट ‘जीप लाइन’ सन्चालन हुने भएको छ । इको टुरिजमको अवधारणामा रही वाइल्ड वन्डर्स प्रा लि को परिकल्पना र प्राविधिक सहयोगमा सामुदायिक वन भित्र भोलीबाट ‘जीप लाइन’ सन्चालनमा आउने आज (मंगलबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
जीप लाइनको प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको जीप लाइनव्यवस्थापक समितीका संयोजक माधव देवकोटाले जानकारी दिए । देवकोटाले जीप लाइनको माध्यमबाट वन जङ्गलको संरक्षण र प्रवर्द्दन गर्दै ‘समृद्द नेपाल सुखी नेपाली’ को परिकल्पनालाई सार्थक बनाउन सकिने विश्वास व्यक्त गरे ।
नेपालमा यस अघी पनि बिभिन्न ठाउँमा जीप लाइन सन्चालनमा आईसकेको भए पनि सामुदायिक वन भित्र भने यो नै पहिलो प्रयास भएको वनका अध्यक्ष केशर बहादुर थापाले दाबी गरे । वनको फाईदाको लागि भन्दा पनि नेपालकै प्रमुख पर्यटकिय गन्तब्य मध्यको एक चितवनमा पर्यटन गतिविधी बढाउन र पर्यटन क्षेत्रको बिकासको लागि जीप लाइन सन्चालन गर्न लागेको उनले स्पष्ट पारे । उनले चितवन आउने पर्यटकहरुको बसाई लम्बाउने योजनाका साथ जीप लाइन निर्माण गरिएको बताए ।



बढ्दो वन बिनास नियन्त्रण गर्नु, रोजगार सृजना गर्नु, साहसिक खेल मार्फत मनोबल बढाउनु, आन्तरिक तथा बाह्य पर्यटक चितवन भित्र्याउनु, राजस्व वृद्धिमा टेवा पुर्याउनु र भ्रमण बर्ष २०२० लाई सफल बनाउनु जीप लाइननिर्माण गर्नुको मुख्य उद्देश्य भएको उनले जानकारी दिए । भोलीबाट सन्चालन हुनेजीप लाइन २ बर्ष अघीको परिकल्पना भएको उनले बिताए ।
यो जीप लाइन ७५ लाखको लागतमा निर्माण भएको उनले बताए । जीप लाइन निर्माणका लागि सामुदायिक वनका ५० जना शेयर सदस्यहरुले लगानी गरेको उनले जानकारी दिए । यस्तै अन्य दाताहरुबाट पनि सहयोग प्राप्त भएको उनले बताए । सामुदायिक वनले व्यवस्थापकिय पक्ष हेरेको उनले जनाए ।
जीप लाइन सफारीका लागि लम्बाई अनुसारको शुल्क तय गरिएको छ । रुट नम्बर १ मा स्टेसन ए देखी स्टेसन बी सम्म १ सय १२ मिटर र स्टेसन बी देखी स्टेसन सि सम्म ८५ मिटर रहेको छ । यसको शुल्क ५०० रुपैँया राखिएको छ । फोटो भिडियो शुल्क ३५० रुपैँया लाग्नेछ । उता रुट नम्बर २ मा स्टेसन सि देखी डि सम्म १७५ मिटरको दुरी रहेको छ भने यसको शुल्क ६०० रुपैँया तोकिएको छ । यसमा पनि फोटो भिडियो शुल्क ३५० रुपैँया नै राखिएको छ ।
यस्तै रुट नम्बर १ र २ दुबै खेल्न चाहेमा नेपाली नागरिकका लागि ९०० रुपैँया शुल्क लाग्नेछ भने फोटो भिडियो लिन चाहेमा थप ५०० रुपैँया लाग्नेछ । सार्क राष्ट्रका पर्यटकको लागि १ हजार ५ सय तथा सार्क बाहिरका पर्यटकका लागि २ हजार रुपैँया शुल्क निर्धारण गरिएको छ भने भिडियो लिन चाहेमा थप ७०० रुपैँया लाग्नेछ । यो शुल्क विश्वमै सस्तो भएको जीप लाइन व्यव्सस्थापना समितीका सदस्य बद्री अधिकारीले दाबी गरे । यस्तै स-साना बालबालिकाहरुका लागि पनि ३५ मिटर दुरीको छुट्टै जीप लाइन निर्माण भईरहेको उनले जानकारी दिए । जीप लाइन खेल्ने सबैको ७ लाखको जीवन बिमाको व्यवस्था पनि गरिने पनि उनले बताए । जीप लाइन सन्चालन हुँदा कम्तीमा २५ जनाले रोजगार पाउने उनको भनाई रहेको छ । यस्तैजीप लाइनका काम गर्ने कर्माचारीहरु सबै तालिम प्राप्त रहेको पनि उनले जानकारी दिए ।
जीप लाइनले चितवनको पर्यटन प्रवर्द्दन सँगै रोजगार सृजना गर्ने भरतपुर महानगरपालिका वडा नम्बर २ अध्यक्ष तथा जीप लाइन व्यवस्थापन समितीका सदस्य पूर्ण बहादुर श्रेष्ठले बताए । सामुदायिक वनको निवर्तमान अध्यक्ष समेत रहेका श्रेष्ठले जीप लाइनको माध्यमबाट पर्यटक चितवन भित्र्याउन र उनिहरुको बसाई लम्बाउन सके जिल्लाको बिकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
जलदेवीमा अहिले चिल्ड्रेन पार्क, पिकनिक स्पट सन्चालन भईरहेको छ । जहाँ वार्षिक करिब ५० हजार पर्यटक प्रवेश गर्ने वनको तथ्यांकमा उल्लेख छ । वनले चिल्ड्रेन पार्क र पिकनिक स्पटबाट हुने आम्दानीबाट २० जना निम्न बर्गका विद्यार्थीहरुको सम्पूर्ण खर्च व्यहोर्दै आईरहेको छ भने निम्न आय भएका ६८ परिवारको ३४० जना सदस्यहरुका लागि ३४ लाख बराबरको उपचार एवं औषधी सेवा उपलब्ध गराईरहेको छ ।
तपाइँको प्रतिक्रिया