उद्योग वाणिज्य संघ चितवनले भरतपुर अस्पताललाई ५०० डेँगु परीक्षण किट सहयोग

एटुजेड समाचार

चितवन,भाद्र ३१ – उद्योग वाणिज्य संघ चितवनले आज भरतपुर अस्पताललाई ५०० डेँगु परीक्षण किट सहयोग गरेको छ । अस्पताल परिसरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष सहनलाल प्रधानले भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट प्रकाश खतिवडालाई ५०० डेँगु कीट हस्तान्तरण गरेका हुन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पछिल्लो समय चितवनमा डेँगुको प्रकोप ज्यादा भएकोले सतर्क हुन आग्रह गरेका हुन् । डेँगु नियन्त्रणको लागि स्वास्थ्यकर्मीको प्रयासले मात्र सम्भव नहुने बस्नेतले बताए । उनले त्यसका लागि सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको बताए । डेँगु रोग नियन्त्रणको लागि निजी क्षेत्र र सामाजिक संघसस्थाको पनि महत्वपूर्ण भूमिका हुने र बिरामी नहुँदै घर घरमा सरसफाई गर्ने हो भने अस्पताल जानै नपर्ने बस्नेतले बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ– चितवनका अध्यक्ष सहनलाल प्रधानले उद्योगी व्यवसायी नाफा घाटामा मात्रै केन्द्रित नभई सामाजिक उत्तरदायित्वले भरतपुर अस्पताललाई संघले डेँगु कीट सहयोग गरेको बताए । प्रधानले आगामी दिनमा पनि डेँगुको संक्रमण कम नभए फेरि पनि आवश्यक सहयोगको लागि संघ तयार रहेको जानकारी दिए । कार्यक्रममा अध्यक्ष प्रधानले उवासंघ–चितवनले जिल्लाको शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको विकासमा आफ्ना गतिविधिलाई केन्द्रित गर्दै आइरहेको बताउँदै स्वास्थ्य क्षेत्र अझ बढी संवेदनशिल भएकोले आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमहरु आयोजना गर्ने बताए । उनले नेपाल भ्रमण वर्ष–२०२०को पूर्वसन्ध्यामा देखिएको डेँगु प्रकोपलाई समयमै नियन्त्रण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा नेपाल सुरक्षित छ भन्ने सन्देश फैलाउनुपर्ने बताए ।

कार्यक्रममा भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले चितवनमा डेंगुको अवस्था, बच्ने उपाय र उपचारको बारेमा जानकारी गराएका थिए । चितवनमा डेँगु रोगको संक्रमण सोचेभन्दा धेरै क्षेत्रमा फैलिए पनि नियन्त्रण बाहिर नगएको बताए । पछिल्लो समय डेँगुको संक्रमणसँगै जनता जागरुक भएको बताउँदै उनले ज्वरो आउँदा घरमै सिटामोल खाएर बस्ने मान्छे अहिले ज्वरो आएकै दिन चिकित्सकको सम्पर्कमा आउने गरेको बताए । सबै प्रकारको डेँगु खतरनाक नभएको बताउँदै उनले डेँगु नियन्त्रण गर्न व्यक्तिगत सुरक्षा र जनचेतनाको विकल्प नभएको विचार राखे ।

दैनिक डेँगु रोगको प्रकोप बढिरहेको तर अस्पतालमा कीटको संख्या ज्यादै न्यून भएको पाइएकोले सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरी डेँगु कीट वितरण गरिएको उवासंघका कार्यसमिति सदस्य एवम् स्वास्थ्य समितिका संयोजक सिरिष पन्तले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु