मनास्लु हिमाल आरोहणमा बढ्दो आकर्षण
काठमाडौं, भाद्र ३० – यस वर्षको शरद ऋतु (अटम सिजन) मा सगरमाथासहितका हिमाल आरोहणका लागि ४७ आरोहण समूहका ३९५ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस याममा सगरमाथासहितका हिमाल आरोहणमा नेपालसहित ४७ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । अनुमति लिनेमा ३०५ पुरुष र ९० महिला छन् ।
यस पटक सबैभन्दा बढी मनास्लु हिमाल आरोहणमा आकर्षण देखिएको छ । शरद ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मानिन्छ । गत वर्षको तुलनामा यस वर्ष धेरै आरोही आएका हुन् । विभागको पर्वतारोहण शाखाका अनुसार यस यामको मनास्लु हिमाल आरोहणका लागि आजसम्म २६ आरोही समूहका २६० आरोहीले आरोहण अनुमति लिएका छन् । सन् २०१८ मा मनास्लु आरोहणमा १८ आरोही समूहका १९० आरोही गएका थिए । सगरमाथा आरोहणका लागि दुई आरोही समूहका १० आरोहीले आरोहण अनुमति लिएका छन् ।
त्यस्तै धौलागिरि हिमाल आरोहणका लागि दुई आरोही समूहका ३० जनाले अनुमति पाएका छन् । नेपालसहित ४७ देशका आरोही यस याममा हिमाल आरोहणमा निस्किएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस याममा हिमाल आरोहणबाट हालसम्म तीन करोड ९६ लाख रुपैयाँ भन्दा बढी सलामी दस्तुर जम्मा भएको छ । विभागको विवरणमा सन् २०१८ को शरद ऋतुमा १६३ आरोही समूहले सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति लिएका थिए । आरोही दशैँ र तिहारसम्म आउने भएकाले यस याममा पनि आरोहीको सङ्ख्या बढ्नसक्ने विभागको अनुमान छ । रासस
तपाइँको प्रतिक्रिया