बुद्ध एयर भन्छ : एकै ठाउँमा उभिएर मन्त्रीविरुद्ध आक्रोश पोख्दा विमान ढल्किएको थियो
काठमाडौं, भाद्र ३० – बुद्ध एअरले शनिबार नेपालगञ्जबाट काठमाण्डौ उडानमा ढिलाइ भएको बारे स्पष्टीकरण दिएको छ ।काठमाडौंबाट उडान ढिला हुँदा नेपालगञ्ज पुगेर फर्कन ढिलाइ भएको बुद्ध एअरले स्पष्ट पारेको छ । नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकलाई लेखिएको पत्रमा बुद्ध एयरले उक्त दिन जहाज निर्धारित समयभन्दा २४ मिनेट ढिला उडेको स्वीकारेको छ।
शनिबार नेपालगञ्ज विमानस्थलबाट फर्कने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण उडान एक घण्टा ढिलाइ भएको भन्दै केही यात्रुहरुले मन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।बुद्ध एअरले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रीका कारण मात्रै उडान ढिला नभएको स्पष्ट पारेको हो । उडान ढिला हुनुमा काठमाण्डौबाटै उडान ढिला हुनु, मन्त्रीले केही बेर पर्खाउनु र केही यात्रुले नाराबाजी गर्दा झण्डै २४ मिनेट उडान ढिला भएको उसले स्पष्ट पारेको हो ।
काठमाण्डौबाट ४ः५० मा उड्नु पर्ने विमान २३ मिनेट ढिलो गरेर ५ः१३ मा उडेको र नेपालगञ्जमा ६ः२ मा अवतरण भएको उसले जनाएको छ । मन्त्रीका सहयोगीले ६ः२५ मा नेपालगञ्ज विमानस्थलका प्रमुखमार्फत फोन गरेर आफूहरु धम्बोजी आइपुगेकोजानकारी पाएपछि मन्त्री आइपुगिहाल्ने आशय बुझी एयरपोर्टका कर्मचारीले यात्रुहरूलाई १८:३० तिर विमानमा वोर्डिङ गराएको भए पनि उहाँहरु केही ढिला एयरपोर्ट प्रवेश गरेको पनि बुद्ध एअरले खुलाएको छ ।
यस्तै विमानभित्र बसिसकेका यात्रु पनि मन्त्री एयरपोर्ट प्रवेश गर्नुपूर्व नै विमानका परिचारिकाहरुलाई अटेर गर्दै बाहिर निस्केर वादविवाद गर्न थाल्दा झनै उडानमा ढिलाइ भएको उसको भनाइ छ । मन्त्री ६ः५० मा एअरपोर्ट आइपुग्नु भएको र उहाँ सरासर विमानमा जाँदा पहिलेदेखि नै विवाद गरिरहेको समूहले विमानभित्र एकै ठाउँमा उभिएर मन्त्रीविरुद्ध आक्रोश पोख्न थालेको र त्यो क्रममा धेरै वजन एकै भागमा पर्दा विमान समेत ढल्किन पुगेको बुद्ध एयरले जनाएको छ ।
४/५ मिनेट विमान भित्रै आक्रोशित समूहले वादविवाद गर्दा उडान गर्न झनै ढिला भएको उसको भनाइ छ । घटनामा मन्त्री र सुरक्षाकर्मी तथा सहयोगीहरुले देखाएको संयमताका कारण पनि आक्रोशित समूहलाई समयमै साम्य पार्न सकिएको र ढिलै भए पनि उडान गर्न सकिएको पनि बुद्ध एअरले स्पष्ट पारेको छ ।नेपालगञ्ज विमानस्थलाई दिएको उडान समयभन्दा २४ मिनेट मात्रै उडान ढिलाइ भएको उसले जनाएको छ ।
तपाइँको प्रतिक्रिया