कृषिमा अब्बल बन्दै मकवानपुरगढी
हेटौँडा, भाद्र २९ – प्रदेश सरकारको अनुदान तथा गाउँपालिकाको व्यावसायिक र आधुनिक कृषितर्फ जोड दिने नीतिका कारण मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको कृषि उत्पादनमा वृद्धि हँुदै गएको छ ।
विगतमा चारदेखि पाँच हजार लिटरसम्म उत्पादन हुने दूधको उत्पादन बढेर हाल १० हजार लिटर पुगेको जनाइएको छ । त्यस्तै केरा तथा तरकारीको उत्पादनसमेत वृद्धि भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका कृषिमार्फत मात्रै समृद्ध हुने ठानेर कृषिमा आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने लक्ष्य लिइएको गाउँपालिका अध्यक्ष विदुर हुमागाइँले जानकारी दिनुभयो ।
“हामी जसरी भए पनि किसानलाई प्रोत्साहन गरेर कृषि उत्पादन वृद्धि गराउने तथा सोरोजगार समेतको सृजना गर्ने अभियानमा छौँ,” उहाँले भन्नुभयो । गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा माटो तथा गोबर परीक्षण केन्द्र तथा पशु आहाराका लागि दाना उद्योग सञ्चानको तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।
व्यावसायिक दूध उत्पादन पकेट क्षेत्रका रुपमा रहेको सो गाउँपालिकामा सहकारीमार्फत मात्रै दैनिक दश हजार लिटर दूध सङ्कलन हुने जनाइएको छ । जुन यहाँको कूल उत्पादनको आधाभन्दा पनि कम रहेको दुग्ध सङ्कलक बताउँछन् । सहकारीमार्फत सङ्कलन हुने दूधबाट मात्रै गाउँपालिकामा मासिक रु एक करोड ५५ लाख भित्रिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर परियारले जानकारी दिनुभयो ।
उक्त गाउँपालिकामा हाल ३० ठूलठूला गाईपालन केन्द्र सञ्चालित रहेका जनाइएको छ । थोरै गाई तथा भैँसीपालन गर्ने किसान अत्यधिक रहेका तर उनीहरुको अभिलेख नभएको बुझिएको छ । गाउँपालिकाको दोस्रो ठूलो उत्पादन यहाँको मालभोग प्रजातिको केरा रहेको छ । त्यस्तै आधुनिक खेती प्रणालीमार्फत मकवानपुरगढीमा दैनिक लाखौँको तरकारी, केराजस्ता उत्पादन बाहिरिने स्थानीय अगुवा किसान बताउँछन् । राज्मा, बोडी, मास, सिमी र भटमासजस्ता मौसमी गेडागुडी तथा विभिन्न प्रकारका मौसमी एवम् बेमौसमी तरकारी यहाँ प्रशस्त उत्पादन हुने अधिकृत परियारले बताउनुभयो । रासस
तपाइँको प्रतिक्रिया