अंशु फाटी चम्केको खेलमा बार्सिलोनाको सानदार जित
भाद्र २९ – १६ बर्षिय युवा मिडफिल्डर अंशु फाटी चम्केको खेलमा बार्सिलोनाले सानदार जित हात पारेको छ । ला लिगा अन्तर्गत शनिबार राती (आइतबार बिहान) भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ५-२ ले पराजित गर्यो ।
घरेलु मैदानमा नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले पाहुना टोलीलाई शुरु बाटै निकै दबाबमा राखेको थियो । बार्सिलोनाको जितमा लुइस स्वारेजले २ गोल गरे भने अंशु फाटी, फ्रान्की डि जोङ र जेराड पिकेले गोल गरे । भ्यालेन्सियाको लागि केभिन गेमेरियो र म्याक्सि गोमेजले गोल गरे ।
खेलमा बार्सिलोना युवा फर्वार्ड अंशु फाटीले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले नै बार्सिलोनाका लागि पहिलो गोल गरे । खेल सुरु भएको २ मिनेट पनि नपुग्दै उनले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनले डि जोङको पासको सदुपायोग गर्दै उत्कृष्ट गोल गरे । सातौ मिनेटमा डि जोङले अंशु फाटीको पासमा उत्कृष्ट गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
बार्सिलोनाले खेल पूर्ण रुपमा आफ्नो नियन्त्रणमा राखे पनि २७ औं मिनेटमा गोल खायो । भ्यालेन्सियाका गेमेरियोले गोल गर्दै बार्सिलोनाको अग्रता २-१ मा झारे । तर दोस्रो हाफको सुरुवाती मिनेटमा नै बार्सिलोनाले अग्रता फेरी लम्बायो । खेलको ५१ औं मिनेटमा पिकेले गोल गरे । एन्टोइन ग्रिजम्यानको रिबाउण्ड भएको प्रहारलाई सदुपायोग गर्दै पिकेले सहज गोल गरेर अग्रता ३-१ मा पुराए ।
दोस्रो हाफमा अंशु फाटीको स्थानमा मैदान प्रवेश गरेका स्वारेजले मैदान प्रवेश गरेको पहिलो मिनेटमा नै गोल गरे । उनले ६१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ४-१ को अग्रता दिलाए । ८२ औं मिनेटमा स्वारेजले ब्यक्तिगत दोस्रो गोल गरेपछी बार्सिलोना ५-१ को अग्रता लिन सफल भयो । खेलको अन्तिममा म्याक्सी गोमेजले गोल गर्दै खेल ५-२ मा पुराए पनि हार भने टार्न सकेनन् । यो जित पछी बार्सिलोना तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको ४ खेलबाट ७ अंक भएको छ । समान खेल खेलेको भ्यालेन्सिया भने ४ अंकको साथ १४ औं स्थानमा झरेको छ । एजेन्सी
तपाइँको प्रतिक्रिया