साँढे ६ करोड लागतमा पोखरामा निर्माण भएको शीत भण्डार सञ्चालनमा
कास्की, भाद्र २८ – सरकारी र निजी साझेदारीमा रु छ करोड ५० लाख लागतमा पोखरा महानगरपालिका–१४ चाउथेमा शीत भण्डार सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको रु दुई करोड ५० लाख र व्यवसायीको रु चार करोडको लागतमा स्थापना गरिएको शीत भण्डारको आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।
तरकारी तथा विषादीरहित रुपमा आँप, केरा, सुन्तला, मेवालगायतका फलफूल पकाउने र त्यसलाई भण्डार गरेर राख्ने उद्देश्यले सञ्चालनमा ल्याइएको शीत भण्डारबाट गण्डकी प्रदेशसहित छिमेकी जिल्लाका कृषक लाभान्वित हुने सञ्चालक लेखनाथ पौडेलले बताए ।
सात रोपनी क्षेत्रफलमा सञ्चालित सो भण्डारमा अमेरिकी र जर्मनी प्रविधिका मेसिनहरुको उपकरण प्रयोग गरिएकाले समेत वर्षौसम्म ढुक्क रहने अवस्था रहेको र कृषक तथा व्यवसायीले सिधैँ शीत भण्डारमा लगेर आफ्नो उत्पादन राख्न सक्ने उनको भनाइ छ । सो शीत भण्डारको क्षमता ३०० मेट्रिक टन रहेको बताइन्छ ।
निर्माणको जिम्मा पाएको एनएस इञ्जिनीयरिङका सञ्जीव चौहानले बहुउद्देश्यीय उपयोगितासहित नेपालमै पहिलोपटक नयाँ तथा वैज्ञानिक प्रविधिको माध्यमबाट निर्माण गरिएको यो शीत भण्डारबाट पूर्णरूपमा विषादीरहित तरकारी तथा फलफूल प्राप्त हुने बताए ।
कार्यक्रममा मुख्यमन्त्री गुरुङले प्रत्येक घरको गरीबी निवारण गर्ने माध्यम जमीन रहेकाले जमीनको अधिकतम उपयोग गरेर आम्दानी वृद्धि गर्नुपर्ने बताए । प्रदेश सरकार गरीबी निवारण गर्ने अभियानमा लागेको उल्लेख गर्दै उनले तीन वर्षभित्रमा प्रदेशमा उत्पादन हुने वस्तुमा आत्मर्निभर बन्दै अहिलेको १४ दशमलव २ प्रतिशतको गरीबीलाई सात प्रतिशतमा झारिने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री गुरुङले प्रत्येक पालिकामा शीत भण्डार स्थापना गर्ने सरकारी योजना रहेकाले कृषकहरुले आफ्नो उत्पादनमा वृद्धि गनुपर्नेमा जोड दिदैं प्रत्येक घरले उत्पादन बढाउँदै स्वरोजगार बन्नुपर्ने बताए ।
भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले कास्की र लमजुङमा शीत भण्डार स्थापना गरिसकेको बताउँदै यसै वर्षभित्रमा प्रदेशका बाँकी नौ जिल्लामा एक/एक शीत भण्डार स्थापना गरिने जानकारी दिए ।उत्पादनलाई बढावा दिनका लागि बजारको आवश्यकता पर्ने उल्लेख गर्दै उहाँले कृषकलाई बजारको ग्यारेन्टीसहित उचित मूल्य प्रदान गर्न उत्पादनको भण्डारीकरण आवश्यक रहेको बताए ।
अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले कृषकले उत्पादनलाई भण्डारण गर्न नसक्दा उचित मूल्य पाउन नसकेको अवस्थामा शीत भण्डारले कृषकलाई राहत प्रदान गर्ने र उत्पादन वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।कृषि मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडीले किसानको उत्पादनलाई सुरक्षा गर्न सरकारले लगानी गरेको बताउँदै शीत भण्डारमा नेपाली कृषकका उत्पादनले पहिलो स्थान पाउने गरी सम्झौतामा उल्लेख गरिएको जानकारी दिए ।प्रधानमन्त्री कृषि आधुनिकीरकरण परियोजना तरकारी सुपर जोनका प्रमुख वसन्त श्रेष्ठले शीत भण्डार कृषकको वर्षौँदेखिको माग रहेको बताए । रासस
तपाइँको प्रतिक्रिया