वैवाहिक अंगीकृत नागरिकता बारे राज्य व्यवस्था समितिमा झन् विवाद
काठमाडौं, भाद्र २८ – राज्य व्यवस्था समितिले नागरिकतासम्बन्धी विधेयक आज पनि कुनै टुंगो लगाउन सकेन।वैवाहिक अंगीकृत नागरिकतामा प्रमुख प्रतिपक्षी दलले नै दलगत अडान राखेपछि आज टुंगो लगाउने भनिएको नागरिकता विधेयक अगाडि नबढेको हो।
नागरिकता विधेयकमा सर्वदलीय सहमति जुटाउन समितिमा आवाज उठेपछि आजको बैठक स्थगित भएको छ।सत्तारूढ दलका सांसदहरू जनार्दन शर्मा, पम्फा भुसाललगायतले यस विधेयकमा सबैको पार्टीगत सहमति हुनुपर्ने मत राखेका थिए।
समिति सभापति शशी श्रेष्ठले नेकपामा पम्फा भुसाल र जनार्दन शर्माले, कांग्रेसमा दिलेन्द्र बडु र अमरेश कुमार सिंह, राजपामा राजकिशोर यादव र समाजवादी पार्टीमा रामसहाय यादवले आफ्नो पार्टीमा छलफल गरी २४ घण्टाभित्र सहमति जुटाउने विश्वासका साथ समिति बैठक स्थगित गरेकी हुन्।
समितिमा बोल्दै उनले भनिन्, ‘सबैले आ आफ्नो पार्टीको जिम्मेवारी लिनु र सहमति जुटाउनु।’वैवाहिक अंगीकृत नागरिकतामा नेपाली पुरूषसँग बिहे भएर आएका विदेशी महिलालाई ७ वर्षमा नागरिकता दिने कि नदिने भन्ने विषयमा सहमति जुट्न नसकेको हो।
कांग्रेसले २०६३ कै कानुनअनुसार बिहे गरेर आएको भोलिपल्ट नागरिकता दिनुपर्ने मत राखेको छ भने नेकपाका अधिकांश सांसदले ७ वर्षपछि नागरिकता दिने र त्यसबीचमा वैवाहिक परिचय पत्र दिनु पर्ने मत राखेका छन्।नागरिकता सम्बन्धी विधेयकमा अहिलेसम्म कुनै सहमति हुन नसकेको अंगीकृत नागरिकता सम्बन्धी विषय नै हो।
तपाइँको प्रतिक्रिया