पहिरोले थुनियो संखुवासभाको सभाखोला, बाह्रबिसे बजार नै बगाउने खतरा
संखुवासभा, भाद्र २५ – संखुवासभाको सभापोखरी गाउँपालिका–४, फाक्सीबुङमा पहिरो झरेर सभाखोला थुनिएपछि बस्ती नै जोखिममा परेको छ । अविरल वर्षाका कारण बुधबार दिउँसोसाढे २ बजेतिर पहिरो खसेपछि सभाखोला थुनिएको हो । सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे बजारभन्दा ३ किलोमिटर उत्तरमा रहेको फाक्सीबुङको पाखो नै बगेर सभाखोला थुनिएर तीन सय मिटरभन्दा ठूलो ताल जमेको सभापोखरी–६ नम्बरका वडाध्यक्ष बिकास पौडेलले बताए ।
सभाखोला गाउँपालिकाको वडा नम्बर ४ र ६ नम्बर वडाको बीचमा रहेको सभाखोलामा फाक्सीबुङको पाखो नै बगेर थुनिएको उनले जानकारी दिए ।पहिरोले फाक्सीबुङमा रहेको गोठहरु समेत बगाएको छ । मानवीय बस्ती नभएकाले अहिलेसम्म मानवीय क्षति भने नभएको वडाध्यक्ष पौडेलको भनाइ छ । पहिरोले थुनिएको सभाखोलाको वारिपट्टि फाक्सीबुङ पर्छ भने पारिपट्टि खेवारिङ पर्दछ ।
खोला नै थुनिएर ताल जमेपछि फुटेर गाउँपालिकाको केन्द्र समेत रहेको बाह्रबिसे बजार नै बगाउने खतरा रहेको छ । बाह्रबिसे बजारमा झण्डै सय घर रहेका छन् । माथिबाट जमेको ताल फुट्यो भने बाह्रबिसे बजार नै बगाउने खतरा रहेको छ ।अविरल वर्षाका कारणले सञ्चार सम्पर्क गर्न समेत मुस्किल परेको छ भने बाह्रबिसे बजार र आसपासका क्षेत्रहरु उच्च जोखिममा परेका छन् ।
सांकेतिक तस्बिर
तपाइँको प्रतिक्रिया