म प्रधानमन्त्री बन्ने सम्भावनाको ढोकामा चुकुल मात्र लागेको छ ताल्चा लागेको छैन – रवि लामिछाने
चितवन, भाद्र १० – न्युज २४ को चर्चित कार्यक्रम ‘सिधा कुरा जनता सँग’ का कार्यक्रम प्रस्तोता रवि लामिछानेले आफु प्रधानमन्त्री बन्ने सम्भावनाको ढोकामा चुकुल मात्र लागेको बताएका छन् । हिजो (सोमबार) मात्रै चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछानेले आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफु प्रधानमन्त्री बन्ने सम्भावनाको ढोकामा चुकुल लागे पनि ताल्चा नलागेको बताएका हुन् । म ‘प्रधानमन्त्री बन्ने सम्भावनाको ढोकामा चुकुल मात्र लागेको छ ताल्चा लागेको छैन – उनले भने ।’
उनले आम सर्वसाधारण जनताहरुले आफुलाई प्रधानमन्त्री बनाउन पर्छ भन्दै उठाउने गरेको आवाजलाई बुझिरहेको बताएका छन् । देशमा नेतृत्व इमानदार नहुँदा जनताबाट यस्तो बिषय उठ्ने गरेको उनले बताए । यदी नेतृत्व इमानदार हुन्थ्यो र हुन्छ भने यस्तो बिषय नउठ्ने भन्दै उनले केही समय आफुहरु यसैमा खबरदारी गर्न व्यस्त रहने बताए । खबरदारी गर्दा पनि त्यस्तो नभएको खण्डमा समयको माग बारे विचार गर्ने उनले बताए ।
‘राजनिती ठीक नभई केही पनि ठीक हुँदैन भन्ने कुरामा म सचेत नै छु, त्यसकारणले हामी जहाँ छौ त्यहीबाट योगदान दिनु पर्छ भन्ने कुरामा म जोड दिन चाहन्छु,’ उनले भने हाम्रो खबरदारीले राजनीतिज्ञ कस्तो हुनुपर्छ भनेर सचेत गराउन सक्यौं र आम सर्वसाधारणलाई कस्तो राजनीतिज्ञ छान्न पर्छ भनेर सचेत गराउन सक्यौं भने राजनीतिमा हाम्रो आवश्तकता नै छैन ।’
‘हामीलाई संचारकर्मी बनेर खबरदारी गर्न दिनुस् न, बेथिति र बिसंगतिलाई पर्दाफास गर्ने क्षमता होस् किन गर्नुपर्छ राजनीति ? तर हुन सकेन, जति गर्दा पनि केही लागेन भने त्यो विकल्प नै होइन, त्यसको बाटो नै छैन भनेरचाहिँ म भन्दिनँ, उनले थपे ।’
यस्तै उनले राजनीति आफुले जानेको बिषय नभएको पनि बताएका छन् । ‘सिक्नु पर्ला तर आज मैले जानेको चिज राजनीति होइन – उनले भने ।’ उनले आफु राजनीतिमा लाग्ने भन्दा पनि राजनीतिक दलहरुलाई सचेत बनाउन तर्फ केन्द्रित रहेको बताए । उनले देशलाई जाने बुझेको भन्दा पनि इमानदार राजनीतिज्ञ चाहिएको बताए । देशमा राम्रो मान्छे टन्नै भए पनि इमानदारिताको मात्र कमी भएको उनको भनाई छ । उनले आफु संचारमाध्यमको तर्फ नै तर्फबाट सबैलाई खबरदारी गर्ने बताए ।
उनले पछील्लो घटना क्रम र आफुहरु प्रहरी हिरासतमा रहदा सही समाचार सम्प्रेषण गरेर जनताको घर सम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै मिडियालाई धन्यवाद दिए । यस्तै उनले साथ र सहयोग गर्ने सम्पूर्ण समर्थकहरुलाई पनि धन्यवाद दिए । अदालतले हिजो मात्र पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका लामिछानेलाई ५ लाख तथा युवराज कडेललाई ३ लाख धरौटीमा छोडेको हो । यही प्रकारणमा पक्राउ परेकी अस्मिता भनिने रुकु कार्की भने सामान्य तारेखमा रिहा भएकी छिन् ।
तपाइँको प्रतिक्रिया