हतोत्साही गर्न भेइकल ट्रयाकिङ्ग र सामाजिक सुरक्षा कोष लागु गरेको व्यवसायीको गुनासो
सूर्यप्रसाद अधिकारी, भदौ ३, चितवन । चितवन एवं नवलपरासीका उद्योगी व्यवसायीले उद्योगी व्यवसायीलाई हतोत्साही र निरुत्साहित गर्न सरकारले भेइकल ट्रयाकिङ्ग सिष्टम (मालवस्तु ढुवानी साधन अनुगमन प्रणाली) र सामाजिक सुरक्षाकोष लागु गरेकोमा आपत्ति जनाएका छन । पूर्व योजना विपरीत र घनिभूत छलफल नगरी जबरजस्ती यो प्रणाली लागु गरेको भन्दै उनीहरुले गुनासो गरेका हुन । उद्योगीलाई निरुत्साहित, हतोत्साहित गर्दै करको दर र दायरा बढाउन यो प्रणाली लागु गरिएको र यसमा आफूहरु अन्यौलमा रहेको उनीहरुको भनाई छ ।
आज चितवन उद्योग संघको आयोजना र राजश्व अनुसन्धान विभागको समन्वयमा भएको भेइकल ट्रयाकिङ्ग सिष्टम र सामाजिक सुरक्षाकोष तालिममा सहभागी उद्योगी व्यवसायीले यस्तो गुनासो गरेका हुन ।
कार्यक्रममा बोल्दै चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले अण्डरविलिङ्गको समस्या, दक्ष कामदारको अभाव, उनीहरुको न्यूनतम पारिश्रमिकको भुत्तानी एवं सामाजिक सुरक्षा कोष सम्बन्धी व्यवस्थाले उद्योग व्यवसाय चलाउन समस्या भएको बताउनु भयो । ‘दक्ष कामदारको अभाव उस्तै छ, विदेशी कामदार राख्नु पर्ने बाध्यता छ , उहांँले भन्नुभयो, यस्तो अबस्थामा सरकारले लागु गरेको प्रणाली कसरी अबलम्वन गर्न सकिने अबस्था छैन ।’ सरकारले प्रशस्त गृहकार्य , छलफल र व्यवस्थित गरेर लागु गर्नुपर्ने उहांँले बताउनु भयो ।
भेइकल ट्रयाकिङ्ग सिष्टम बैज्ञानिक र व्यबहारिक भएको दाबी गरिएपनि पूर्व योजना र उद्योगी व्यवसायीलाई अभिमुखीकरण नगराई लागु गराउंँदा अन्यौल परेको अर्का व्यवसायी पुरुषोत्तम रिजाल बताउंँनुहुन्छ । ‘विभागले बनाएको एप्सनै अपूर्ण र अव्यवस्थित छ, उहांँले भन्नुभयो ,यस्तो अवस्थामा हामीले कसरी भेहिकल ट्रयाकिङ्गलाई अबलम्बन गर्न सक्छौं ।’ यस बिषयमा कस्ता व्यवसायीले कुन कुन बस्तुमा इन्ट्री गर्नुपर्ने हो आफूहरु अन्यौलमा रहेको उहांँले बताउनु भयो । बिक्रेताले आफ्नो सामान लोड गरेपछि सामानको अवस्था बारे जानकारी लिनसक्ने एप्स बनाउन जरुरी रहेको उहांँको भनाई छ ।
सहभागी अन्य उद्योगी व्यवसायीले व्यवसायको बर्गीकरणका बारेमा प्रष्ट नभएको भन्दै बिक्रेता र क्रेतावीचनै अन्यौलको वातावरण रहेकोले सच्याउंँदै सरलीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।
सो बिषयमा प्रस्तुतीकरण गर्दै विभागका निर्देशक राम प्रसाद रेग्मीले यो प्रणाली उद्योगी व्यवसायीलाई निरुत्साहित गर्न नभई प्रोत्साहन, पारदर्शी र व्यस्थित गर्न लागिएको बताउनु भयो । ‘शुरुका चरणमा केही बाधा र समस्या आउन सक्छ उहांँले भन्नुभयो , यसलाई सुधार्दै व्यवस्थित गर्दै लाने हो ।’ सरकारले आउने ३ महिनामा सम्म यस सिष्टमलाई प्रर्वद्धनात्मक रुपमा लिएको उहांँले जानकारी दिनुभयो ।
कार्यक्रममा सामाजिक सुरक्षा कोषका निर्देशक रमा भट्टराइले सामाजिक सुरक्षा कोष सम्बन्धी प्रस्तुतीकरण दिदै यो अभ्यास विल्कुलै नयांँ भएकोले पूर्णरुपमा कार्यान्वयनमा आउन नसकेको बताउनु भयो ।
सामाजिक सुरक्षा कोषले रोजगारदाता र रोजगारी पाउने दुबैको हितमा रहेकोले यसलाई पालना गर्दा दुबैपक्षलाई फाइदा पुग्ने उहांँको भनाई छ । यस बिषयमा उद्योगी व्यवसायीले ज्यालादारी र विदेशी कामदारको हकमा आफूहरुले यो प्रणाली लागु गर्न असक्षम रहेको भन्दै गुनासो गरेका थिए ।
तपाइँको प्रतिक्रिया