काठमाडौं, साउन १९ – प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार राति सिंगापुर प्रस्थान गरेका छन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकारहरूको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफू स्वास्थ्योपचार गराउन सिंगापुर जान लागेको संक्षिप्त प्रतिक्रिया दिए।
प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ सदस्य सहभागी रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।


प्रधानमन्त्रीलाई बिदाइ गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायत विशिष्ट व्यक्तिहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा आइतबारदेखि स्वास्थ्य परीक्षण सुरू हुनेछ। उनले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्य उपचार गर्ने कार्यक्रम छ। यसअघि ओली नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्ड गएको थिए।प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर आगामी शुक्रबार (साउन २४ गते) स्वदेश फर्कने कार्यक्रम छ। रासस