साउन १९, चितवन । भरतपुर महानगरपालिकाले गौरवको योजना अनुरुप नारायणगढ बजारमा बाह्र तले ‘भरतपुर मेट्रो प्लाजा’को निर्माणको तयारी शुरु गर्ने भएको छ ।
कार्यपालिकाको वोर्ड बैठक अनुसार केही महिनाभित्रै निर्माणकार्य थाल्ने तयारी स्वरुप सम्झौताका कामहरु अघि बढाउने तयारी गरेको हो ।
लागत स्टमेट गर्न जिम्मेवारी दिएको अरनीको डिजाईनर्स एण्ड प्लानर्स कन्सलटेन्ट एजेन्सीले करीब एक अर्व १० करोडको लागत अनुमान निकालेकाले सोही अनुरुप बजेट ब्यवस्थापन गर्न लागिएको महानगरका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए । ‘महानगरको कार्यपालिका र नगरसभाले समेत प्लाजा गर्ने निर्णय भैसक्यो, हामी छिटै टेण्डर प्रक्रियामा जान्छौं ।’ नगर विकास कोषबाट ऋण सहयोगको बिषय नटुंिगएकाले काम शुरु गर्न ढिलाई भएको उनले बताए ।
बोर्ड बैठकले यस लागत मध्ये ३० प्रतिशत महानगरले ब्यवस्थापन गर्ने र बाँकी नगर बिकास कोषबाट ऋण सहयोग लिने निर्णय बैठकले गरेको थियो । ‘यो ऋणका लागि कोषले ८ प्रतिशत ब्याजको प्रस्ताव गरेको छ । तर, यो दरलाई घटाउन महानगर प्रमुखले प्रयत्न गरिरहनुभएको छ ।’ सुवेदीले भने ।
दशैं अघि नै निर्माणको प्रक्रिया आरम्भ गर्ने उदेश्यले महानगर अघि बढेको महानगर प्रमुख रेनु दाहालले बताईन । उनका अनुसार सो मेट्रो प्लाजा सुविधासम्पन्न प्लाजा बन्नेछ । प्लाजमा विकसित देशका प्लाजा जस्तै दुईतले भूमिगत पार्किङ्ग, प्लाजाको अगाडी गार्डेन सहितको पार्क , रेष्टुरेण्ट, व्यवसायिक प्रतिष्ठान लगायतका सुविधा रहनेछन ।
नारायणगढ बजारको लायन्स चोकमा पुरानो तरकारी मण्डी भएका स्थानमा यो प्लाजा बनाउन लागिएको छ । आगामी तिन बर्ष भित्र निर्माणकार्य पुरा गर्ने लक्ष्य महानगरको छ । महानगरले यसबर्ष यसको निर्माण प्रक्रियाको लागि ५ करोड रकम विनियोजन गरिएको सुवेदीले जानकारी दिए ।
