ग्लोबल टी–२० मा सन्दीप र सोमपालको बिर्सनलायक प्रदर्शन

एटुजेड समाचार

साउन १९ – क्यानडामा जारी ग्लोबल टी–२० मा नेपालका बलरद्वय सोमपाल कामी र सन्दिप लामिछाने बिर्सनलायक प्रदर्शन गरेका छन् । सोमपालले डेब्यु खेलमा नै खराब प्रदर्शन गरेका हुन् । पहिलो मौका पाएका सोमपालले कुनै कमाल देखाउन सकेनन् बरु उल्टै खराब प्रदर्शन गरे ।

विनिपेग हक्सबाट खेलिरहेका सोमपाल बलिङमा महाङ्गो साबित हुँदा ब्याटिङमा खराब प्रदर्शन गरे । एडमन्टन रोयल्सविरुद्ध टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको हक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९५ रन जोड्यो । हक्सका लागि शाइमन अनवरले ३५ बलमा ६२ तथा कप्तान जेपी ड्युमिनीले ३१ बलमा नटआउट ४८ रङ जोडे । हक्सबाट सोमपाललाई ८ औं नम्बरमा ब्याटिङ गर्न गएका थिए । तर उनले ५ बलमा जम्मा एक रन मात्र बनाए ।एक सय ९६ रनको विशाल लक्ष्य लिएर उत्रेको एड्मन्टनले आक्रामक ब्याटिङ गर्‍यो। उसका लागि हङकङका ब्याट्सम्यान अंशुमान रथले ५० बलमा ८७ रनको आक्रमक इनिङ खेले ।

खेलको १० औं ओभरमा बलिङको जिम्मा पाएका सोमपालले पहिलो ओभरमा नै १५ रन दिए । १५ औं ओभरमा उनले दोस्रो ओभर बलिङको मौका पाए । तर त्यसमा उनी झनै महङ्गो देखिए । त्यस ओभरले उनले १८ रन दिए । २ ओभरमा गरी सोमपालले ३३ रन खर्चिए भने कुनै विकेट लिन सकेनन् ।उक्त खेलमा एड्मन्टनले आठ विकेटले बिजयी भयो ।

उता नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेको प्रदर्शन पनि बिर्सनलायक नै रह्यो । ब्राम्प्टोन वल्भ्सविरुद्धको खेलमा उनी महङ्गो साबित भए । चार ओभर बलिङ गरेका सन्दिपले ४४ रन खर्चिए । खेलमा एक विकेट लिए पनि उनी निकै महङ्गो साबित भए ।पहिलो ब्याटिङमा निम्त्याइएको ब्राम्प्टोनले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा २ सय २२ रनको विशाल स्कोर खडा गरेको थियो ।

२ सय २३ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको सन्दीपको टिम टोरन्टो नेसनल्सले २० ओभरमा ७ विकेट गुमाएर २ सय ११ रन मात्र बनाउन सक्यो । खेल ब्राम्प्टोनले ११ रनले जित्यो । एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु