शिक्षाको अर्को नाम खेमलाल तिवारी

एटुजेड समाचार

सुशिल पन्त
साउन १८, चितवन – खेमलाल तिवारी बुवा उमेरले ८२ बर्ष पुगिसके । बुवालाई मान्छे ठम्याउन पनि गाह्रै पर्छ ।आँखामा चश्मा नभए मान्छे ठम्याउनै सक्दैनन् ।भलै बुवाले आँखा कम नै देख्नु हुन्छ तर उनी शिक्षाको ज्योति छर्नमा ब्यस्त रहेका छन् । तिवारी बुवा आँफैले बिद्यालय देखेनन्, बिद्यालयमा गएर पढ्ने अवसरनै पाएनन् तर उनी अहिले सबैलाई शिक्षाको उज्यालो घाम देखाउन लागि परेका छन् ।

तिवारी बुवाले आफुले त अध्ययन गर्न पाएनन्, यस्तो अवस्था कसैको पनि नहोस् भन्ने चाहन्छन् । शिक्षाको उज्यालो घामबाट कोही पनि बन्चित हुन नपरोस् भन्दै तिवारी बुवा बिगत लामो समय देखी बिद्यालयमा दान गर्दै आईरहेका छन् । २ दशक भन्दा बढी भयो तिवारी बुवाले शैक्षिक क्षेत्रमा सहयोग गर्न लागेको । यो उमेरमा आईपुग्दा पनि उनी अझै थाकेका छैनन् । उमेरले ८२ बर्ष पार गरे पनि उनको हात गोडा अझै कापेका छैनन् ।

बि.स १९९४ मा लम्जुङको रवै डाँडामा जन्मिएका तिवारी २०१४ मा चितवनको आनन्दपुरमा बसाई सराई गरी आए । उनको लागि संसारमा सबै भन्दा प्यारो भनेकै शिक्षा हो । आफु अशिक्षित भए पनि अब कोही पनि शिक्षाबाट बन्चित हुनुहुन्न भन्ने भावना रहेको छ उनको । यसर्थ उनी २०५५ साल देखी शैक्षिक क्षेत्रमा सहयोग गर्दै आईरहेका छन् ।

शिक्षाले नै समाजलाई अन्धकारबाट उज्यालो तर्फ डोहोर्‍याछ भन्छन् तिवारी । मानिसले यो धर्तीमा जम्न लिए पछी केही न केही राम्रो काम गर्नुपर्छ भन्ने उनको भनाई छ । त्यसैले समाजमा केही सकारात्मक सन्देश दिन सकिन्छ कि भन्ने सोचका साथ शैक्षिक क्षेत्र रोजेको उनी बताउछन् । ‘समाजमा सकारात्मक सन्देश दिने केही काम गर्ने सोच आयो उनी भन्छन्, त्यसैले सबै सँग सल्लाह गरे र शिक्षामा नै सक्दो सहयोग गर्ने मनसाय बनाए ।’

पहिले ब्यक्तीगत रुपमै सहयोग गर्दै आएका उनले अहिले भने प्रतिष्ठान नै स्थापना गरेर बालबालिकाहरुको शिक्षामा सहयोग गर्दै आईरहेका छन् । उनको प्रतिष्ठानको नाम हो ‘खेमालाल शोभा देवी तिवारी प्रतिष्ठान’ । यो प्रतिष्ठान २०७४ पुष २१ गते स्थापना भयो ।उनी प्रतिष्ठानको संरक्षक हुन् । आफ्नो र श्रीमती शोभा देवी तिवारीको नामबाट उनले प्रतिष्ठानको स्थापना गरेका हुन् । यती गर्छु त्यती गर्छु भनेर शुरु गरेको होइन भन्छन् उनी । उनी भन्छन् – गर्दै जाँदा जती सके त्यती गरे, आगामी दिनमा पनि जती सक्छु त्यती गर्छु । तर उनको एउटै चाहना छ, शिक्षा पाउनबाट कोही पनि बन्चित नहोस् बरु त्यसको लागि के कती सहयोग गर्न पर्छ गर्न तयार छन् ।

उमेरले शरिर अब पहिलेको जस्तो बलियो रहेन तर आफुलाई कमजोर ठान्दैनन् उनी । ‘शरिर त कमजोर भईसक्यो तर मेरो आत्मा कमजोर भएको छैन उनी भन्छन्, मेरो आत्माले साथ दिए सम्म निरन्तर सहयोग गर्नेछु ।’ आफु शिक्षाबाट बन्चित हुनु पर्दाको पिडा त छदैछ, त्यो पिडा आफ्नो सन्तानले भोग्न नपरोस् भनेर तिवारीले आफ्नो ३ छोरा र ३ छोरीलाई उच्च शिक्षा दिए । पछी उनले ति ६ जना मात्र होइन सबै बालबालिकाहरुलाई आफ्नै छोरा छोरी सम्झिए अनी सके सम्म सबैलाई शिक्षाका लागि सहयोग गर्ने सोच बनाए । आफ्नो यो सोच बारे उनले घरमा सल्लाह गरे । घर सल्लाह अनुसार नै बिद्यालयमा दान गर्ने निर्णय भयो ।

उनले पहिलो पटक विश्व प्रकाश उच्च मा.वि मा सहयोगी हात बढाए । पहिलो पटकमा नै उनले विश्व प्रकाश उच्च मा.वि मा कक्षा ११ र १२ कक्षाकोठा निर्माणमा सहयोग गरे । यस्तै उनले बिद्यालयको प्रवेशद्वार निर्माणमा पनि सहयोग गरे । त्यसयता उनले लाखौंको सहयोग गरिसकेक छन् । उनले भरतपुरका लगभग सम्पूर्ण बिद्यालयहरुमा सहयोग गरिसकेका छन् ।

विद्यार्थीका लागि आवश्यक पर्ने कापी, कलम, बिद्यालय पोषाक, झोला जस्ता शैक्षिक सामाग्री देखी बिद्यालयलाई आवश्यक भौतिक सामाग्रीहरु पनि सहयोग गर्दै आईरहेका उनी । यस्तै गरिब जेहेनदार र फरक क्षेमता भएका विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप छात्रबृत्ती पनि दिन्छन् तिवारी बुवा । उनले अहिले सम्म भरतपुरमा ६८ वटा बिद्यालयमा बिभिन्न किसिमबाट सहयोग गरिसकेका छन् । यती धेरै सहयोग गर्दा पनि उनी थाकेका भने छैनन् बरु उल्टै झनै धेरै सहयोग गर्न सोच बनाईरहेका छन् । अहिले सम्म उनले भरतपुर केन्द्रित भएर सहयोग गर्दै आईरहेकोमा अब भने चितवन जिल्ला भर नै सहयोग गर्ने उनको भावी योजनामा छ ।

‘खेमालाल शोभा देवी तिवारी प्रतिष्ठान’ स्थापना भए पछी उनले बिभिन्न बिद्यालयमा छात्रबृत्ती लागि ७ लाख ५० हजारको अक्षय कोष स्थापना गरेका छन् । यस्तै बिभिन्न बिद्यालयमा ६१ हजार ३ सय नगद, १ लाख २४ हजार ८ सय बराबरको खाजा शैक्षिक सामाग्री र फरक क्षेमता भएका बालबालिका, सडक बालबालिका तथा जेष्ठ नागरिकहरुलाई सम्मानार्थ ५० हजार सहयोग गरिसकेका छन् । प्रतिष्ठान स्थापना हुनु अघी पनि उनले धेरै सहयोग गरिसकेका छन् ।

भरतपुर महानगरपालिका एवं प्रतिष्ठानका सल्लाहकार पदम पाडी सुवेदीले तिवारी बुवा आफु शिक्षाबाट बन्चित भए पनि अरु त्यसरी बन्चित नहोस् भन्नका लागि शैक्षिक क्षेत्रमा सहयोग गर्दै आईरहेको बताए । राज्यको नजर नपुगेको ठाउँमा तिवारी बुवा पुग्ने गरेको उनी सुनाउछन् । तिवारी बुवाको यस्तो कार्यले राज्यलाई घचघचाउने उनको भनाई छ । अहिले शिक्षाको क्षेत्रमा केन्द्रित रहेका तिवारी बुवा अब स्वास्थ्यको क्षेत्रमा पनि सहयोग गर्न्र सोचमा रहेको उनले बताए ।

बिशेषगरी शक्षाको क्षेत्रमा बढी केन्द्रित रहे पनि उनले अन्य बिभिन्न सामाजिक कार्यका लागि पनि सहयोग गरेका छन् । यसरी सहयोग गरिरहदा उनलाई श्रीमती शोभा देवी तिवारीले पनि निकै साथ दिईरहेकी छिन् । अन्तिम सास रहुन्जेल सम्म पनि सहयोग गरिरहेने उनी बताउछन् । समाजमा राम्रो काम गर्नका लागि उमेरले छेक्दैन भन्नका लागि तिवारी बुवा एउटा गतिलो उदाहरण हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू