चितवन, साउन १८ – प्रदर्शन मिती नजिकिदै गर्दा चलचित्र ‘रे’ युनिटले प्रचार प्रसारलाई तिब्रता दिएको छ । यही श्रावण २४ गतेबाट देश भर एक साथ प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रे’ ले मोफसलमा प्रचार प्रसार गरेको छ । प्रचार प्रसारकै क्रम चलचित्र युनिटले शुक्रबार चितवनमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्माता राजेन्द्र त्रिपाठीले ‘रे’ लाई उत्कृष्ट बनाउन कुनै कसुर बाँकी नराखेको बताए । उनले हरेक हिसाबले चलचित्रलाई उत्कृष्ट बनाउन खोजिएको बताए । सुनिल थापा सँग काम गर्नु आँफैमा सौभाग्यको कुरा भएको भन्दै उनले चलचित्र हेरेर प्रतिकृया दिन आग्रह गरे ।
चलचित्रका निर्देशक दिनेश पौडेलले ‘रे’ ले दर्शकको मन जित्ने अपेक्षा रहेको बताए । उनले चलचित्रमा एउटा कथालाई उठान गरिएको भएता पनि कथा भित्रको उपकथा पनि रहेको बताए । ‘चलचित्रमा एउटा कथा त छदै छ उनले भने, त्यस भित्र पनि धेरै उपकथाहरु छन् ।’चलचित्रमा सामाजिक कथा सँगै माया प्रेम र एक्सन रहेको उनले बताए । यस्तै उनले जिन्दगीमा कुनै पनि चिज गुमाउदा कस्तो हुन्छ भन्ने कथा पनि चलचित्रमा उठाईएको बताए ।
कथा बस्तुले चलचित्रलाई उत्कृष्ट बनाएको निर्देशक पौडेलको भनाई रहेको थियो । उनले एउटै कथालाई रबर जस्तो तन्काएर लामो बनाउने भन्दा पनि कथा भित्रको उपकथाले चलचित्रलाई उत्कृष्ट बनाउने भन्दै ‘रे’ मा त्यस्तै गरिएको बताए । उनले कथा अनुसार कलाकारले उत्कृष्ट काम गरेको बताए ।
चलचित्रका कलाकार सुनिल थापाले ‘रे’ को कथा नै उत्कृष्ट भएको बताए । उनले आफुलाई कथा मन परेको कारण नै चलचित्रमा काम गरेको बताए । उनेल ‘रे’ भन्नाले सामान्य बोलिचालीको भाषामा प्रयोग हुने ‘रे’ नभई सुर्यको किरण ‘रे’ भएको बताए । लामो समय पछी कमब्याक गर्दा ‘रे’ जस्तो राम्रो कथामा काम गर्ने अवसर मिलेको उनले बताए । उनले फिल्मका डेब्यु निर्माता राजेन्द्र त्रिपाठीले ‘रे’ लाई राम्रो बनाउन कुनै किसिमको कमी नगरेको बताए ।
उनले चलचित्रमा १ करोड भन्दा माथिको लगानी लागेको जानकारी दिदै लागेको लगानी उठाउने विश्वास गरे । फिल्ममा धेरै लगानी लागेको बताउदै हँसाउने शैलीमा उनले भने – ‘राजेन्द्र जिले फिल्ममा ठुलो लगानी गर्नुभएको छ, पहिलो फिल्मले कम्तीमा लगानी उठाउन पर्छ अनी बल्ल उहाँले अर्को फिल्म बनाउनु हुन्छ ।अर्को फिल्म बनाउदा चाँही लगानी अली कम गर्नुहोस्, उठाउन सजिलो र नाफा धेरै हुन्छ ।’ उनले चलचित्रमा आफ्नो भिलेन भूमिका रहेको बताए ।
चलचित्रका नायक दिवस धितालले सबै खाले फिल्म रुचाउने दर्शकहरुले ‘रे’ हेर्नै पर्ने बताए । उनले फिल्ममा एक्सन, माया प्रेम, सामाजिक कथा सबै भएकोले यो चलचित्र सबैलाई मन पर्ने बताए । उनले ‘रे’ आफ्नो डेब्यु चलचित्र भए पनि राम्रो टिम सँग काम गर्न पाएको बताए । उनले सुनिल थापा जस्तो लेजेन्ड कलाकार सँग काम गर्न पाउदा धेरै सिक्ने अवसर पाएको बताए ।चलचित्रकी नायिका सुजाता थापाले ‘रे’ आफुले काम गरेको मध्य उत्कृष्ट भएको बताईन् । सुजाताले चलचित्रमा आफ्नो भूमिका एउटा धनी परिवारकी छोरीको रहेको बताईन् ।
चलचित्र सुनिल थापा, दिवस धिताल र सुजाता थापाको अलावा पूर्णिमा लामा, क्रान्ति बराली , रक्षा गुरागाई, अभिषेक जोशीको अभिनय छ । फिल्ममा किशोर खतिवडाको विशेष भूमिका छ । चलचित्रमा कुमार श्रेष्ठको द्धन्द्ध निर्देशन, ओम सुनारको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, रमेश बिशुँखेको सम्पादन, महेन्द्र थापाको छायांकन रहेको छ ।