नेपाल डायरिजको तेस्रो वार्षिक उत्सव ‘रोबिन एण्ड द न्यु रिभोलुसन’को साथमा

एटुजेड समाचार

चितवन, साउन १५ – नेपाल डायरिजको तेस्रो वार्षिक उत्सवको अवसरमा नेपालको लेजेन्ड्री म्युजिकल ब्याण्ड ‘रोबिन एण्ड द न्यु रिभोलुसन’ को नयाँ एल्बम लन्च तथा लाइभ कन्सर्ट हुने भएको छ । नेपाल डायरिजले यही साउन १७ गते शुक्रबार मनाउन लागेको तेस्रो वार्षिक उत्सवमा ‘रोबिन एण्ड द न्यु रिभोलुसन’ को नयाँ एल्बम ‘मुग्लान’ लन्च तथा लाइभ कन्सर्ट हुने आज नारायणगढमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

उक्त दिन ब्याण्डको नयाँ एल्बम लन्च सँगै लाइभ कन्सर्ट पनि हुने नेपाल डायरिजका प्रबन्ध निर्देशक बिनेश थापाले जानकारी दिए । बिगत २३ बर्ष देखी नेपाली संगीतिक क्षेत्रमा सकृय नेपालकै पुरानो मध्यको ब्याण्डले नेपाल डायरिजसँगको सहकार्यमा चितवनमा एल्बम लन्च गर्न लागेको उनले बताए ।

३ बर्ष अघी देशभर बिभिन्न किसिमका कार्यक्रम आयोजना गर्ने उद्देश्यका साथ नेपाल डायरिजको स्थापना भएको थापाले जानकारी दिए । नेपाल डायरिजले संगीतिक कार्यक्रम तथा सौन्दर्य प्रतियोगिताहरु आयोजना गर्दै आईरहेको छ । यस्तै नेपाल डायरिजले भिडियोग्राफी तथा फोटोग्राफीको काम सँगै रेष्टुरेन्ट तथा बारमा गरिने संगीतिक कार्यक्रमको लागि संयोजन समेत गर्ने गरेको छ । उसले चितवनमा बिशेषगरी प्रत्येक बर्ष कम्तीमा ३ ठुला कार्यक्रमहरुका आयोजना गर्दै आईरहेको छ ।

नेपाल डायरिजले चितवनमा प्रत्येक बर्ष ‘मिस एसईई स्टार चितवन’ ‘ग्ल्यामअप नेपाल’ र ‘अल्टिमेट डिबेट च्यालेन्ज’ जस्ता ठुला कार्यक्रमहरु गर्दै आईरहेको निर्देशक अनिल घिमिरेले जानकारी दिए । यि मध्य ‘मिस एसईई स्टार चितवन’ निकै लोकप्रिय रहेको छ । यसले चितवन बाहेक काठमाडौं र हेटौंडामा पनि बिभिन्न किसिमका कार्यक्रमहरु आयोजना गरिसकेको छ । यस्तै निकट भविष्यमा देशभर नै कार्यक्रम गर्ने योजना रहेको घिमिरेले बताए ।

नेपाल डायरिजले संगीत तथा ग्ल्यामर सँग सम्बन्धित कार्यक्रमहरु बढी आयोजना गर्ने भएकोले वार्षिक उत्सवको अवसरमा पनि संगीतिक कार्यक्रम गर्न लागेको घिमिरेले बताए । भरतपुर ओरालोको भाट भटेनीमा रहेको द फुड कोर्टमा १७ गते शुक्रबार हुने कार्यक्रम साँझ ७ बजेबाट शुरु भई राती ११ बजे सकिने नेपाल डायरिजका व्यवस्थापक मनिष तामाङले जानकारी दिए ।

कार्यक्रम अवलोकनका लागि ४०० रुपैँयाको टिकटको व्यवस्था गरिएको छ । यस्तै डिजिपे नामक एपबाट अनलाईन टिकट खरिद गर्न पनि सकिने छ । डिजिपेबाट टिकट खरिद गर्दा भने ३०० रुपैँया मात्र लाग्ने बताईएको छ । यसको लागि प्ले स्टोरमा गएर डिजिपे एप डाउनलोड गर्न पर्नेछ । टिकट खरिद गर्ने सबैलाई ‘रोबिन एण्ड द न्यु रिभोलुसन’ को नयाँ एल्बम ‘मुग्लान’ उपहार स्वरुप प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै उक्त कार्यक्रमको लागि टिकट खरिद गर्ने सबैलाई नेपाल डायरिजले भिडियोग्राफी तथा फोटोग्राफीमा २० प्रतिशत छुट दिने बताईएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू