हेटौंडा, साउन १५ – विप्लव समूहका कार्यकर्ताले मकवानपुरमा गाडीमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनिहरुले गाडीमा आगजनी गरेका हुन् ।बन्द आह्वानको पूर्वसन्ध्यामै हेटौंडा–नारायणगढ खण्डअन्तर्गत मनहरी–९, ज्यामिरेमा बा ५ ख १७३९ नम्बरको ट्रक र मकवानपुरकै फाखेल–हुमाने भञ्ज्याङ्ग सडक खण्डमा बा १४ च ८२३४ नम्बरको कारमा आगजनी गरिएको हो ।
आगजनीका कारण कार पूर्ण रूपमा क्षति पुगेको र ट्रकको अगाडिको भाग मात्र जलेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए ।काठमाडौं उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको विरोधमा विप्लव समूहले बुधबार बागमती र नारायणी अञ्चल तथा रामेछाप र दोलखा जिल्ला बन्द आह्वान गरेको छ ।