साउन १४ – अष्ट्रेलियामा सन् २०२० मा टि २० विश्वकप सकिएलगत्तै अर्को बर्ष फेरी अर्को टि २० विश्वकप आयोजना हुने भएको छ ।अष्ट्रेलियामा विश्वकप लगत्तै अर्को बर्ष अर्थात सन् २०२१ मा फेरी टि २० विश्वकप हुने पक्का भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् २०२१ मा भारतमा विश्वकपको आयोजना गर्नेछ ।
आईसीसीले टि२० विश्वकपलाई चार वर्षको ४ बर्षको स्वरुपमा लगेको छ । जस अनुसार अष्ट्रेलियामा टि२० विश्वकप भए पछी अर्को विश्कप सन् २०२४ मा हुनु पर्ने हो । तर आईसीसीले सन् २०२१ मा नै अर्को टि२० विश्वकप आयोजना गर्ने निर्णय गरेको हो । उक्त टि२० विश्वकपमा १६ देशको सहभागिता जनाउन पाउनेछ । यसले नेपाली समर्थकलाई केही राहत मिल्ने भएको छ ।



सन् २०२० मा हुन लागेको आईसीसी टी २० विश्वकपको एसिया छनोटबाट बाहिरिए पछी नेपालको दोस्रो पटक टी २० विश्वकप खेल्ने सपना चकनाचुर भएको थियो । तुलनात्मक रुपमा कमजोर मानिएका राष्ट्रहरु सँग अप्रत्याशित रुपमा पराजित हुँदै नेपाल टी २० विश्वकपको एसिया छनोटबाटै बाहिरिए पछी नेपाली टिमको चर्को आलोचना भईरहेको छ । तर आईसीसीको यो निर्णयले नेपाली टिम तथा समर्थकहरुलाई राहत मिलेको छ । सन् २०२० को टी २० विश्वकप खेल्न नपाए पनि लगत्तै अर्को बर्ष हुने टी २० विश्वकप हुने भएकोले नेपाललाई छिट्टै दोस्रो टी २० विश्वकप खेल्ने अवसर मिल्न सक्ने देखिन्छ ।
आईसीसीले च्याम्पियन्स ट्रफीलाई हटाएर त्यसको स्थानमा टि२० विश्वकप गराउने निर्णय गरेको हो । अन्य फर्म्याट भन्दा टी २० लोकप्रिय रहेकोले त्यसलाई थप उचाई दिन आईसीसीले यस्तो निर्णय गरेको हो । यस अघी सन् सन् २००९ र २०१० मा पनि यस्तै भएको थियो । त्यस बेला पनि २००९ को टी २० विश्वकप सकिए लगत्तै सन् २०१० मा अर्को टी २० विश्वकप आयोजना भएको थियो । यो निर्णय पछी नेपाल सामु छिट्टै अर्को विश्वकप खेल्ने अवसर आएको हो । तर यसको लागि नेपाली टिमले यस पटक भएको कमी कमजोरीलाई सुधारदै अहिले देखी नै तयारी गर्न जरुरी रहेको छ ।