एटुजेड समाचारदाता,
चितवन १३ साउन : केही वर्षअघि एउटा बाघले नवलपरासीको त्रिवेणी क्षेत्रमा फुटबल हेरिरहेका दर्शकलाई तानेर लग्यो ।
त्यसपछि राष्ट्रिय निकुञ्जको खोरमा ल्याएर राखिएको उक्त बाघले खोर नाघेर निकुञ्जका कर्मचारी हरि बोटलाईसमेत मार्यो । अर्काे नङग्रे बाघले समेत धेरै मानिसलाई आक्रमण गरेर मारेको छ ।
बर्षेनी बाघले मानिसमाथि आक्रमण गरेका घटना विभिन्न जिललामा देखिन्छ । तर सिधै बाघ मानिसमा भने कहिल्यै झम्टँटैन । बाघको आहारा मान्छे हुँदै होइन । चित्तल बँदेल, जरायो उसको मुख्य आहारा हो ।
‘मुख्यगरी घाईते, अशक्त, मान्छे खान बानी परेको र आफ्नो क्षेत्र (टेरिटोरी) बनाउन नसकेको र जम्काभेट हुँदा बाघले मान्छेमाथि आक्रमण गर्ने गर्छ,’ बाघ विज्ञ डा बाबुराम लामिछाने भन्नुभयो ।
राष्ट्रिय प्रकृति संरक्षण, कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका बाघ विज्ञ डा लामिछाने आफ्नो क्षेत्र (टेरिटोरी) बनाउन नसकेका र अरु बाघले विस्थापित गरेका बाघहरुबाट बढी मानवीय जोखिम देखिएको बताउनुहुन्छ ।
केही वर्ष अघि उहाँको समुहले गरेको एक अध्ययनले पनि सोही कुरा देखाएको छ । यो सँगै एकपटक मान्छे खान पल्केको बाघ पनि मान्छेलाई आक्रमण गर्न आउँछ ।
चितवन राष्ट्रिय निकुञ्जमा लामिछानेलगायत तत्कालिन निकुञ्जका वरिष्ठ पशुचिकित्सक डा कमल गैंरे, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा चिरञ्जीवी पोखरेल, अर्का विज्ञ डा. नरेश सुवेदी लगायतको टोलीले सन् २००७ देखि २०१६ सम्म अनुसन्धान गरेको थियो ।
त्यो बेलको अनुसन्धानले २२ बाघ समस्याग्रस्त थिए । त्यसमध्ये १७ वटा बाघले भने क्षेत्र बनाउन नसक्दा आफ्नो ठाउँ खोज्ने क्रमममा मानिसमाथि आक्रमण गरेको थियो ।
सबैभन्दा लजालु जनावर
बाघलाई जंगलको राजा मानिन्छ । सबै भन्दालजालु जनावर भएकाले छुप्पिएर बस्न खोज्छ । बाघले २० देखि ४० किलोमिटर क्षेत्रलाई आफ्नो बनाएर बस्छ । सामान्यत बाघको आयु १५,१६ वर्ष हुन्छ ।
जंगलआसपास मानवीय चापका कारण अहिले बाघ बस्तीमा छिर्ने गरेको बाघ विज्ञको भनाई छ । बढी मानवीय चापले नै समस्यामा छन्, उनीहरु सानो खुम्चिएको स्थानमा बस्नुपरेको छ । आफ्नो क्षेत्र (टेरीटोरी) खोज्ने जाने क्रममा बस्तीमा आइपुग्दा यस्ता घटना हुने गरेका छन् ।
नियतवश बस्तीमा भने नआएको राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तरगत सदर चिडियाखाना ललितपुरका प्रमुख तथा बाघ विज्ञ डा. चिरञ्जीवी पोखरेल बताउनुहुन्छ । उहाँका अनुसार लजालु स्वभाव हुने गरेकाले बाघ हम्मेसी मानवीय बस्तीमा आउँदैन ।
‘उसको संरक्षणका लागि जैविकमार्गहरु संरक्षण गर्नुपर्छ, आहाराप्रजाति बढाउनुपर्छ, अनि बासस्थान विस्तार गर्नुपर्छ,’ डा पोखरेलले भन्नुभयो ।
चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल मान्छेमाथि आक्रमण गर्ने बाघलगायत जनावरहरुलाई नियन्त्रणमा लिने गरिएको र घाइते भए उपचारपछि निकुञ्जमै छाड्ने गरिएको बताउनुहुन्छ । मान्छे खानेलाई भने छाड्ने गरिएको छैन ।
बाघको बहन क्षमता अध्ययन
नेपालमा अहिले बाघको संख्या २३५ छ । त्यसमध्ये सबैभन्दा बढी ९३ बाघ चितवन निकुञ्जमा छ । यसअघि चितवनमा १२० बाघ रहेकोमा अध्ययनले घटेको पाइएको हो । बाढी तथा वासस्थानको क्षति र आहारा प्रजातिमा आएको उतारचढावका कारण बाघ घटेको हुनसक्छ तर विज्ञहरु संख्यात्मक रुपमा घटेको भएपनि बाघको चाप कायमै रहेको उल्लेख गर्छन् ।
त्यसैले अबस्था पत्ता लगाएन अहिले चितवनमा कति बाघ रहन सक्छन् र के कारणले बाघ कम भएका हुन् भनेर बाघको बहन क्षमता बारे अध्ययन भैरहेको छ । त्यसले एउटा आधार तयार हुने र संरक्षणमा योजना निर्माणमा सहयोग मिल्ने चितवन निकुञ्ज प्रमुख ढकालले बताउनुभयो । बाघ विश्वमा ४ हजारको हाराहारीमा छ, त्यसमध्ये सबैभन्दा बढी भारतमा छ ।
कसरी शुरु भयो दिवस
बाघको बासस्थान भएको नेपाललगायत १३ देशका विज्ञहरु सम्मिलित सन् २०१० मा रुसमा भएको एक सम्मेलनले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पार्ने योजना अघि सारेको छ । तोकिएको मिति आउन अब तीन वर्ष पनि बाँकी छैन ।
त्यही बेलादेखिनै २९ जुलाई अर्थात आजको दिनलार्इ बाघ दिवसको रुपमा मनाउन थालिएको हो । नेपालमा अहिले २३५ बाघ रहेकोमा सन् २०१०माको प्रतिबद्धता अनुसार १२१ बाट २०२२ सम्ममा १४२ बाघ बनाउँदा पुग्ने भएपनि साना बच्चाको हिसाव नगरेकाले २४५ बनाउने लक्ष्यको नेपाल नजिक पुगेको छ ।
नेपालले संख्यालाई २५० पुर्याउने योजना बनाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णु श्रेष्ठले बताउनुभयो ।
यसपालीको दिवस बाँकेमा
सबै राजधानी काठमाडौँ केन्द्रित हुने बाघ दिवसको कार्यक्रम आज भने भव्य समारोहका बीच बर्दीयामा आयोजना गरिएको छ ।
बाघको संख्या बढेदै गएको बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ संरषणमा चेतना फैलाउने उद्देश्य सहित दिवस मनाउन लागिएको निकुञ्ज विभागले जनाएको छ । दिवस समारोहमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत लगायतका उच्च सकिारी अधिकारी, संरक्षणकर्मी र प्रदेश सरकारको समेत सहभागितामा चेतनामुलक कार्यक्रम हुँदै छ ।
२०६७ सालमा स्थापित निकुञ्ज आसपासका जनतालाई संरक्षणमा चेतना दिनका लागि यसरी कार्यक्रम बाँकेमा गनृ लागिएको विभागले जनाएको छ । अन्य निकुञ्ज, संरक्षित क्षेत्रहरुले पनि आआफ्नै तपरिकाले बाघ दिवस मनाइरहेका छन् ।