वृद्ध वृद्धालाई सहयोग गरेर कहिले नथाक्ने निरकला

मनिका विश्वकर्मा
चितवन, साउन ८ – झापाकी ८६ वर्षिय निरकला शर्मा अहिले चितवनको टांडिमा असहाय वृद्ध कल्याण समाज वृद्ध आश्रममा सेवा गरिरहेकी छिन् ।उनको जन्म दार्जिलिङको ओबाइकीमा रहँदा शिक्षक पिता जगधर र आमा गायत्री शर्माको कोखबाट १९९० पुस २८ गते भएको हो ।त्यतिबेलै मन्टेश्वरी शिक्षा अध्ययन गर्ने अवसर पाएकी नीरकला १० वर्षको उमेरमै हड्डी सम्बन्धी रोगबाट ग्रसित भईन् । उनी १३ वर्षको हुँदा उनका भाइ स्कुलबाट फर्किंदा रेलमा परेर बिते । निरकला १९ वर्ष हुँदा उनको दाजुको मिलमा काम गर्दा ज्यान गएको थियो ।निरकला अशक्त भएर ओछ्यान पर्दा उनकी आमा गायत्रीले धेरै सहायता गरेकी हुन । एकातिर छोरीको अवस्था र अर्कोतिर छोरा गुमेको शोकले उनकी आमा गायत्री गाडीको आवाज आउँदा पनि बेहोस हुने भएपछि नीरकलाको परिवारले खर्साङको घरजग्गा बेचेर झापा गए ।
उनी २०२० मा १८ वर्षको उमेरमा एसएलसी परीक्षा दिन धरान गएकी थिईन । परिक्षा सकिएर घर आउँदा आमा बितेको नौ दिन भइसकेको थियो ।निरकला अशक्त भएर ओछ्यान पर्दा उनकी आमा गायत्रीले धेरै सहायता गरेकी हुन । आमाको लागि भनेर चक्लेट बोकेर लिएर गएकी थिईन । अन्तिम समयमा पनि उनले आमाको अनुहार देख्न पाईनन् । आमाले उनलाई संसार छोड्नु अघी नै महिला संघकी जिल्ला सभापति “मेची आमा” लाई जिम्मा लगाएर गएकी थिईन ।उनी भन्छिन ” मेची आमा नभएको भए आज म यो अवस्थामा हुँदैन थिए होला ।
मेची आमाले मलाई काठमाडौंमा पढ्नको लागि प्रिन्सेप शाह (राजा महेन्द्रकी बुहारी), विमला मास्के र कमल राणा (जुद्धशमशेरकी बुहारी) को सहयोगमा कीर्तिपुर क्याम्पसको छात्राबासमा शिक्षाशास्त्रमा स्नातक पास गरेकी हुन् ।क्याम्पसका प्राध्यापक, साथीहरु र मेचीआमाकै पहलमा शान्त भवन मिसन अस्पतालमा युकेबाट आएका डा मार्टिनले ठूलो पर्यत्नबाट उनको खुट्टाको शल्यक्रिया सम्पन्न गरिदिएका हुन् । पाँच महिनाको अस्पताल बसाई पश्चात् उनी त्रिविबाट उपाधिसहित झापा फर्किइन् ।
पढाइमा मेहेनती भए पनि शारीरिक कारण अध्ययनलाई निरन्तरता दिन सकिनन् । आफ्नो हजुरबुवाका साथै धार्मिक ग्रन्थहरु तथा विभिन्न दार्शनिक विद्धानहरुबाट सामाजिक कार्य गर्नका लागि प्रेरित भएको निरकला बताउछिन् । उनलाई सबैले ‘निरकला सिस्टर’का नामले बोलाउन्थे । उनले जीवन दु:ख र पिडामा बिताईन् ।उनलाई सेन्ट मेरिट अस्पातलमा उपचारमा राखिएको थियो । उपचारपछी उनीले जिन्दगीको नयाँ मोड लिन सुरु गरेको हो ।
उनलाई चितवनमा ‘मदर टेरेसा’का रुपमा सम्मान गर्दछन् ।उनी परोपकार र मानवसेवाका लागि औधी चासो राख्थिन् । आफू अशक्त रहँदारहँदै पनि हिम्मत नहारिकन सयौँ विद्यार्थीहरुलाई शिक्षाको ज्योति बाँड्ने विद्याकि देवि हुन नीरकला । उनले अङ्ग्रेजी विषय पढाउन्थिन ।उनी चितवनको पहिलो अंग्रेजी शिक्षिका पनि हुन् ।धेरै संघर्ष गर्दै शैक्षिक सफलता गरेर झापा आउँदा कान्छी आमाले ठेस लाग्नेगरी लगाएको वचन उनी अझै सम्झिन्छिन् । सोही कारण उनी चितवन आएकी हुन् । चितवन आएर नीरकला नेपाल माविमा रत्ननगरमा मावि शिक्षिकामा नियुक्त भइन् । निरन्तर २४ वर्षसम्म अंग्रेजी, अर्थशास्त्र र इतिहास बिषयको अध्यापन गराईन् । आफैँले दुःख गरेर पढाएको रकम जम्मा गरेर घडेरी किनिन् र घर बनाइन् ।
०४९ सालमा सेवा निवृत्त भएपछि उनी राधाकृष्ण मन्दिरको संस्थापक भएर अशक्त, अपाङ्ग र बेसहारा वृद्धको कल्याणमा लागिन् ।
एउटा संस्था खोलेर आजीवन वृद्धवृद्धाको कल्याण गर्ने उद्देश्यले उनकै अध्यक्षतामा २०५९ सालमा असहाय वृद्ध कल्याण समाज दर्ता भयो । रत्ननगर–१२ स्थित अमिलियामा ६ कठ्ठा जग्गा खरिद गरेर उनले असहाय वृद्ध कल्याण समाज स्थापना गर्ने सोच बनाईन् । अब भवन बनाउने चुनौती थपियो । त्यसबेलाको आपत् सम्झँदै उनी भन्छिन्, ‘एकपैसा थिएन, पास खर्च पनि मागेर गरेको हो । यो भवनको जग खन्दा पनि उधारोमै खन्नुप¥यो ।’
विभिन्न दाताको सहयोगबाट संस्थाको आफ्नै भवन बन्यो । सत्संग भवन निर्माणका लागि निरकलाले जम्मा गरेको ६ लाख ८१ हजार रुपैयाँ जम्मा गरेकी थिईन् । पछी पदमनारायण धर्मकुमारी मल्ल प्रतिष्ठानले ९ लाख ९० हजार रुपैयाँ, रत्ननगर नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरे । यस्तै, धान्याचल महायज्ञबाट एक करोड ८७ लाख रुपैयाँ संकलन गरी वृद्धवृद्धाको लागि आवास निर्माण भयो ।
जसमा सात वृद्ध र तीन वृद्धाले सम्मानजनक जीवन बिताइरहेका छन् । आगामी दिनमा महिला आवास निर्माण गर्ने योजना निरकलाले बनाएकी छन् ।
१५ वर्ष संस्थाको नेतृत्व सम्हालेकी गरेकी नीरकला आफू संरक्षक रहेर स्थानीय समाजसेवी तिलकराज शर्मालाई अध्यक्षको जिम्मेवारी दिएकी छन् । शर्मा रत्ननगर–२ का वडाध्यक्ष हुन् । नीरकलाले आफ्नो घरसमेत बिक्री गरेर वृद्धवृद्धाको कल्याणमा समर्पित भएकी छन् ।
उनले विसं २०७० सालमा आमाको स्मृतिमा ‘गायत्री शर्मा अशक्त मानवसेवा ट्रष्ट’समेत स्थापना गरेकी छन् । गायत्रीको पुण्य स्मृतिमा संस्थामा रहने वृद्धवृद्धालाई खाद्य सामग्रीलगायतमा सहयोग पुगोस् भनेर उनको निजी कमाइबाट स्थापित अक्षयकोषमा पन्ध्र लाख रुपैयाँ जम्मा भएको छ ।
उनले पढाएका चेलाचेलीहरु मेयर, प्राध्यापक, क्याम्पस प्रमुख, डाक्टर, इन्जिनियरलगायत विभिन्न पेसा व्यवसायमा स्थापित भएका छन् । उनी भन्छिन्, ‘पहिले संस्था चलाउन समस्या थियो । अहिले दर्जनौँ वृद्धवृद्धा राखेर सेवा गरिरहेको निरकला बताउछिन् । उनले जीवनको उत्तराद्र्धमा पनि उनको साहस र आँट उस्तै छ । मानिस अशक्त, अपाङ्ग र वृद्ध हुँदैमा सहाराविहीन हुँदैन भन्ने दृष्टान्त निरकलाको जीवनी बाट प्रमाणित हुन्छ । चार सय रुपैयाँ तलबबाट पढाउन सुरु गरेर सात हजार ५०० तलब हुँदा अवकास पाएकी नीरकलाले अहिले २० हजार रुपैयाँ पेन्सिन थाप्छिन् । औषधि खाएर बचेको पेन्सन पनि ट्रष्टमै जम्मा गरेकी निरकलाले बताईन् ।
तपाइँको प्रतिक्रिया