अनेसास सर्वाेत्कृष्ट पुस्तक पुरस्कारको नतिजा प्रकाशित

अमेरिका, साउन ६ – अन्तराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) ले अनेसास सर्वाेत्कृष्ट पुस्तक पुरस्कारको नतिजा प्रकाशित गरेको छ । वोर्ड अफ ट्रस्टीज पुरस्कार समितिको आयोजनामा भएको पत्रकार सम्मेलनमा वोर्ड अफ ट्रस्टीज पुरस्कार समितिका अध्यक्ष डा.गोपी उप्रेतीले आज अमेरिकाको भर्जिनियामा अनेसास सर्वाेत्कृष्ट पुस्तक पुरस्कारको नतिजा प्रकाशित गरेका हुन् । उनले नेपाली भाषासाहित्य र समालोचनका क्षेत्रमा विज्ञता हासिल गरेका छ जना विद्धानहरुको मुल्यांकनबाट प्राप्त अंकको आधारमा सर्वाेत्कृष्ट पुस्तक पुरस्कारको नतिजा सार्वजनिक गरेका हुन् ।
अनेसास सर्वाेत्कृष्ट पुस्तक पुरस्कारमा ‘रोबोटका आँखाहरु’ – ( कथासंग्रह ) नरेन्द्रराज पौडेल, ‘छाप्रो नं ५५ ( उपन्यास ) रमेश दियाली , ‘मेरो मान्छे’– (कविता) कुन्ता शर्मा, ‘पृथक बाटो’ ( लघुकथासंग्रह) युवराज मैनाली, ‘पाठशाला’ ( उपन्यास) तीर्थ गुरुङ, ‘यात्रा छहारीमा हिउँफुलकी रानी’( संस्मरण निबन्ध ) घनश्याम राजर्णीकार, ‘आँगन’( गजल संग्रह ) नमिता बराल, ‘मस्टो संस्कृति’( अनुसन्धान ) तेज बहादुर कार्की गरी आठ जनालाई पुरस्कृत गरिएको उप्रेतीले जनाए । अनेसास सर्वाेत्कृष्ट पुस्तक पुरस्कार महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीको अवसरका दिन भव्य समारोहका बीच वासिङटन डीसीमा वितरण हुने उप्रेतीले बताए ।
पुरस्कार प्रयोजनको लागि सन् २०१७ जनवरी १ देखी सन् २०१८डिसेम्बर ३१ सम्म दुई वर्षका अवधिमा प्रकाशित भएका पुस्तकहरु मध्ये पुरस्कार समितिले गत जनवरीमा पहिलो पल्ट सार्वजनिक गरेका सुचनापछि यस वर्ष नेपाल र अमेरिका गरी जम्मा १३६ पुस्तक दर्ता भएको अनेसासको सदस्य सचिव शिव लामिछानेले जानकारी दिए । लामिछानेले अनेसास २८ वर्षमा भएको र यसले विश्वको नेपाली साहित्यमा ३० भन्दा बढी राष्ट्रहरुमा नेपाली साहित्यको समृद्धि र विकास गर्नको लागि लेखकहरुलाई विभिन्न विधामा पुस्तक लेख्न प्रोत्साहित गरेको बताए ।
तपाइँको प्रतिक्रिया