साउन ५,काठमाडौं । चार करोड बराबरको लागुऔषधसहित एकजना पोर्चुगिज नागरिकलाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विमास्थलको प्रस्थानतर्फ रहेको यात्रुहरुको झोला चेकजाँच गर्ने स्थानमा एयर इण्डियाको उडान नम्बर एआई २१६ बाट भारतको दिल्ली हुँदै जापान जान लागेको अवस्थामा उनलाई पक्राउ गरेको जनाएको छ ।
पासपोर्ट नम्बर ७०१२९२ बाहक २५ वर्षीय टियागो मेन्डेस पेरेइरा नाम गरेका पोर्चुगिज नागरिकलाई शुक्रबार पक्राउ परेको हो । उनले बोकेको कालो, खैरो र निलो रंगको झोलामा सानो-सनो प्याकेटजस्तो वस्तु देखिएकोले लागुऔषध हुनसक्ने आशंका गरी चेकजाँच गर्दा २७ वटा कागजका बक्सहरुमा राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध, एम्फेटामाइन (आईसी), चार केजी दुई सय ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।


बरामद गरिएको अवैध लागुऔषधको बजार मूल्य चार करोडभन्दा बढी रहेको र हालसम्मकै ठूलो परिमाणमा लागुऔषध बरामद गरिएको लागुऔषध ब्युरोले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेकोसमेत जनाइएको छ । बाह्रखरीबाट