साउन ०४ – अब क्रिकेटमा पनि फुटबलको जस्तै खेलाडी परिवर्तन गर्न पाइने भएको छ । आईसीसीको हालै सम्पन्न बैठकले यो नियम लागू गर्ने निर्णय गरेकोले अब क्रिकेटमा पनि फुटबलको जस्तै खेलाडी परिवर्तन गर्न पाइने भएको हो।
यसका लागि खेलाडी घाइते भएमा प्रतियोगिताका लागि घोषणा गरिएको १४ सदस्यीय टिममा रहेको हुनुपर्नेछ । यस अघी प्लेइङ सेट सार्वजनिक भइसकेपछि कुनै पनि खेलाडी परिवर्तन गर्न नपाउने नियम रहेको थियो । उक्त नियमका कारण खेलको क्रममा खेलाडी घाइते भए पनि पुनः ब्याटिङ गर्नुपर्ने बाध्यता रहेको थियो ।


बलर घाइते भएको खण्डमा भने अर्को बलरले ओभर पुरा गर्न पाउने नियम थियो । फुटबलमा यदि खेलाडी घाइते भएमा उसको परिवर्तन गर्ने विकल्प हुन्छ । आईसीसीका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा गम्भीर चोट लागेको खेलाडी परिवर्तन गर्न पाइनेछ । त्यसको लागि मेडिकल टिमले घाइते प्रमाणित गर्नुपर्नेछ ।
परिवर्तन भएको खेलाडीले ब्याटिङ र बलिङ दुबै गर्न पाउने छ । अहिलेसम्म फिल्डरको रुपमा मात्रै खेलाडी परिवर्तन गर्ने नियम थियो । ब्याट्सम्यान घाइते भएको खण्डमा ब्याट्सम्यान र बलर घाइते भएको खण्डमा बलर नै परिवर्तन गर्न पाउने आईसिसीले जनाएको छ । यो नयाँ नियम इंग्ल्याण्ड र अस्ट्रेलियाबीच हुने एसेज सिरिजदेखि लागू हुने आईसिसीले जनाएको छ । एजेन्सी