भरतपुर महानगरद्वारा व्यवसाय करको आठ प्रतिशत निजी क्षेत्रलाई

चितवन, साउन १ – व्यवसाय कर सङ्कलनमा सहयोग पु¥याएका उद्योग वाणिज्य सङ्घ चितवन र उद्योग सङ्घ चितवनलाई भरतपुर महानगरपालिकाले उठेको करको हिस्सा प्रदान गरेको छ । महानगरपालिकाले उद्योग वाणिज्य सङ्घलाई सङ्कलित रकमको पाँच प्रतिशत र उद्योग सङ्घलाई तीन प्रतिशत उपलब्ध गराएको हो ।
भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को असार २२ गते सम्म व्यवसाय कर रु चार करोड ७६ लाख ६९ हजार ४१६ राजश्व सङ्कलन गरेको थियो । सोमध्येबाट उद्योग वाणिज्य सङ्घलाई रु २३ लाख ८३ हजार ९७० र उद्योग सङ्घलाई रु १४ लाख ३० हजार ३८२ प्रदान गरिएको हो ।
असार २२ गतेसम्मको सङ्कलित रकमबाट भुक्तानी गरिएको महानगरले जनाएको छ । गत आर्थिक वर्ष भरमा रु पाँच करोड १९ लाख ५० हजार ९७६ सङ्कलन भएको महानगरले जनाएको छ । बाँकी रकम चालू आर्थिक वर्षमा थप गरेर भुक्तानी पाउने उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले बताए ।
भरतपुर महानगर प्रमुख रेणु दाहालले उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष राजु पौडेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन ।भरतपुर महानगरपालिका नगर कार्यपालिकाले गत वर्ष साउनमा उद्योग वाणिज्य सङ्घ चितवनलाई व्यवसाय दर्ता दस्तुरबापत सङ्कलित रकमको पाँच प्रतिशत रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।
यसैगरी भरतपुर महानगरले चितवन उद्योग सङ्घलाई व्यवसाय दर्ता दस्तुरबापत सङ्कलित रकमको तीन प्रतिशत रकम उपलब्ध गराउने निर्णय गत वर्ष कात्तिकमा गरेको थियो ।महानगरपालिका प्रमुख दाहालले महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा महानगरको आन्तरिक आय वृद्धि गरेको बताइन ।
महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यको उत्कृष्ट नमूना प्रस्तुत गरेको भन्दै महानगर प्रमुख दाहालले यसलाई भविष्यमा पनि कायम राखिने बताइन । सङ्घका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र पौडेलले सो रकम कर सङ्कलनमा सहयोग पुग्ने गरी विभिन्न कार्यक्रममा खर्च गरिने जानकारी दिए ।
तपाइँको प्रतिक्रिया