विकराल बन्दै नसर्ने रोग ः नसर्ने ७० प्रतिशत, सर्ने ३० प्रतिशत
सूर्यप्रसाद अधिकारी, साउन १, चितवन । विगत एक दशक अघिसम्म सर्ने रोगबाट विरामीहरु बढी प्रभावित भएपनि हाल आएर ती विरामीहरु मध्ये नसर्ने रोगबाट प्रभावित हुनेको संख्या बढ्दै गएको छ । बिशेषगरी मुटुरोग,क्यान्सर मधुमेह, रक्तचाप लगायतका ६ प्रकारका नसर्ने रोगबाट विरामीहरु प्रभावित हुने गरेका छन । विश्व स्वास्थ्य संगठनका अनुसार एकदशक अघिसम्म सर्नेरोग ६० प्रतिशत र नसर्ने रोगको अनुपात ४० प्रतिशत भएपनि पछिल्लो बर्ष विश्वमा ७० प्रतिशत रोग नसर्ने र ३० प्रतिशत मात्र सर्ने रोगको प्रभाव रहेको हो । सर्ने रोगको उपचार सहज भएपनि नसर्ने रोगको उपचार भने जटिल र समय बढी लाग्ने गरेको स्वास्थ्यकर्मी बताउंँछन । उनीहरुका अनुसार मानिसमा आएको जीवनशैली र खानपानका कारण नसर्ने रोगको प्रभाव बढ्दै गएको हो ।
जनस्वास्थ्य कार्यालय, चितवनका स्वास्थ्य निरीक्षक पद्मनाथ ढकाल सूर्तीजन्य पदार्थ , मद्यपान र अस्वस्थकर खानाका कारण नसर्ने रोगको प्रभाव बढ्दै गएको बताउंँनु हुन्छ । उहांँका अनुसार देशभर मुटुका रोगीको संख्या बढी भएपनि चितवनमा भने क्यान्सरका विरामीको संख्या बढी रहेको छ । देशभर मुटुरोगी ३० प्रतिशत रहेका छन भने क्यान्सरका विरामी १२ प्रतिशत रहेका छन ।
यस्तै गरी विश्वभर ४१ प्रतिशतले धुम्रपान सेवन गर्ने गरेको पाईएको छ । जसमध्ये १० प्रतिशत महिलाको संख्या रहेको तथ्यांक छ । जिल्ला स्वास्थ्य, कार्यालय , चितवनले दिएको जानकारी अनुसार दक्षिण पूर्वी एशियामा नसर्ने रोगबाट २५ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ ।
यसैगरी नेपालमा सूर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुने ४८ प्रतिशत पुरुष रहेका छन भने १४ प्रतिशत महिला रहेका छन । नेपालमा कुल मृत्युदर मध्ये ६६ प्रतिशत नसर्ने रोगका छन भने ३५ प्रतिशत सर्ने रोग रहेको कार्यालयले जनाएको छ । ती मध्ये ९ प्रतिशत मानिस दुर्घटनाबाट मर्ने गरेका छन । यसैगरी कार्यालयले दिएको जानकारी अनुसार उच्च रक्तपात हुने मध्ये देशभर २४ प्रतिशत पुरुष रहेका छन भने २३ प्रतिशत महिला रहेका छन । मधुमेहका विरामी पुरुषको संख्या १० प्रतिशत रहेको छ भने महिलाको संख्या ९ प्रतिशत रहेको छ ।
जनस्वास्थ्य अधिकृत अनुप अधिकारीका अनुसार अधिकांश नसर्ने रोग बिषादी खाना , धुम्रपान, मध्यपान तथा प्रदुषित वातावरणका कारण बढ्दै गएको हो । ‘ नसर्ने रोगका लागि उपचारपद्धति लामो समय लाग्छ र यसको मृत्युदर पनि बढ्दै गएको छ’ उहांँले भन्नुभयो । यस्ता रोगहरु जटिल र रोग पहिचान गर्न समेत चुनौति हुंँदा विरामीको मृत्युदर समेत बढी रहेको छ । जसका कारण चिकित्सा विज्ञानलाई समेत चुनौति थपिएको उहांँको भनाई छ । यसैगरी कतिपय रोगहरु जेनेटिक रुपमा भावी पुस्ताहरुमा समेत सर्दै गएकोले पनि यसलाई न्यूनिकरण गर्न मुश्किल हुदै गएको उहांँले बताउनु भयो । यस्ता रोगका कारण धनी झनझन गरीब र गरीबले उपचार गर्नपनि नसक्ने अवस्था रहेको छ । यसको न्यूनिकरणका लागि चिकित्सकको उपचार भन्दा पनि मानिसले आफ्नो स्वस्थ जीवनशैली , खानपान र शारिरीक सक्रियताको साथै सचेतना आवश्यक पर्ने उहांँले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया