असार ३१, चितवन । ९० प्रतिशत पानी पहुंँच भएको चितवनमा ५७ प्रतिशत बासिन्दाले दुषित पानी पिउन बाध्य हुनु परेको छ। जिल्लामा रहेका खानेपानी आयोजनावाट वितरित अधिकांश खानेपानी आयोजनामा पानी प्रदुषित रहेको पाईएको हो । स्वास्थ्य कार्यालय चितवनले ३ बर्षसम्म ३५ वटा आयोजना अनुगमनका क्रममा यस्तो पाईएको बताएको छ ।
कार्यालयले आज यहाँ आयोजना गरेको मेरो वर्ष २०७६ स्वास्थ्य प्रवर्धन अभियानको सरोकारवालाहरु विचको अन्तरक्रिया तथा खानेपानी गुणस्तर सार्वजनिक कार्यक्रममा कार्यालयका जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले जिल्लामा ५७ प्रतिशत उपभोक्ताले प्रदुषित पानीको प्रयोग गर्नुपरेको वताए
। तीन वर्षमा जिल्लामा खानेपानी सुरक्षा योजना लागु भएका २१ वटा आयोजनाको अनुगमनका क्रममा ९ वटा आयोजनाले मात्र शुद्ध पिउने पानी उपलव्ध गराउने गरेको पाईएको उनले जानकारी दिए । अनुगमनका क्रममा कोलिफम ब्याक्टेरिया, आर्सेनिक, अम्लीयपना भेटिएको थियो ।
सो मध्ये १२ वटा आयोजनाले वितरण गरेको पानीमा फिकल कोलिफम(दिशामा देखिने किटाणु) देखिएको अधिकारीले जानकारी दिए ।
अनुगमनका क्रममा माडीमा रहेका दुईवटा, ईच्छाकामना गाउपालिकाका दुई वटा र पूर्वी चितवन तथा पश्चिम चितवनका आयोजनाको पानी प्रयोगशालमा ल्याई परिक्षण गरिँदा पानी दुषित भएको प्रमाणित भएको हो । कार्यालयले विगत ३ वर्ष देखि खानेपानीको गुणस्तर मापन गर्दै आएको छ । अनुगमनका क्रममा आयोजनाको भौतिक अवस्था, केमिलकको प्रयोग र पानीको गुणस्तरका विषयमा अध्ययन गरिएको थियो ।
सो क्रममा बोल्दै जिल्ला स्वास्थ्य निरीक्षक पदमनाथ ढकालले पानीको मुहान एवं स्रोतमा पानीको शुद्धताको मात्रा पिउनयोग्य भएपनि उपभोक्ताको धारासम्म पुग्दा पानी पिउन अयोग्य रहेको बताउनु भयो । उनका अनुसार बिशेषगरी खोला र बोरीङ्गको पानी मिसाएर वितरण गर्दा पानी बढी दुषित भएको पाइएको छ । त्यसमध्ये खोलाको पानी खुल्ला रहने भएका कारण विभिन्न फोहर वस्तु मिसिने गरेकाले त्यस्ता आयोजनाले वितरण गरेका पानी बढी दुषित रहेको छ । पानीको स्रोतबाट विभिन्न औषधीको प्रयोग गरी पानी वितरण गरिएपनि अधिकांश वितरण गरिएका पाइपहरु फुट्ने र त्यसबाट ढलसमेत मिसिएको उनले जानकारी दिए ।
पानीलाई शुद्ध वनाउनका लागि आयोजनाहरुले नयाँ प्रविधिका पाईपहरु जडान गर्नु पर्ने, पानीमा क्लोरीन राखेर पिउने, उमालेर मात्रै पानी पिउने, फिल्टर गरेको पानी प्रयोग गर्ने लगायतका उपायहरु अपनाउन सकेमा महामारीवाट वच्न सकिने निरीक्षक ढकालले सुझाव दिए । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण कुमार डल्लाकोटी, स्थानीय जनप्रतिनिधिले स्वस्थ जीवनका लागि स्वस्थ पानी आवश्य पर्ने भन्दै यसतर्फ सरोकार निकायलाई गम्भिर हुन आग्रह गरेका थिए ।
–


