अन्धकार बीचमा चम्किलो नक्षत्र :रोहिणी न्यौपाने
मनिका विश्वकर्मा चितवन, असार २९ रत्ननगर नगरपालिका वडा नं १४ स्थित जनजागृति माध्यामिक विद्यालयमा अंग्रजी विषय पढाउने शिक्षक रोहिणी न्यौपानेले अन्धकार बीचमा चम्किलो नक्षत्रको रुपमा रहेका छन् । । न्यौपानेको ५० वर्ष पहिले लमजुङको दुराडाँडामा एउटा सामान्य परिवारमा जन्म भएको थियो ।
परिवारमा छोरा वा छोरी जन्म हुदाँ खुशियाली आउनु स्वभाविक नै हो । तर बालक आफैमा एउटा दुःखद भविष्य बाकेर आएको कसैलाई थाहा हुदैंन । त्यस्तै उनको पनि विं.स २०५४ सालमा गाडी दुघटनामा परेर एउटा दाहिने पटिको खुट्टा भाचिँयो ।
डाक्टरले रक्त जन्य रोगको कारण खुट्टाको अपरेशन गर्न नमिल्ने बताए पछि जीवन कठिनमय भएको उनले बताए । उनी एक महिना अस्पतालमा नै बस्नुपरेको थियो । उनी एकदमै राम्रो इमानदार, सहयोगी भावनाको शिष्टाचारी, सभ्य व्यक्ति रहेको छिमेकीहरु बताउँछन ।
उनले विं.सं. २०४१ सालमा लमजुङको सर्वोदय माध्यमिक विद्यालयबाट एस.एल.सी दिएका थिए भने विं.सं. २०४९मा आइ ए र बीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरबाट अंग्रेजी बिषयमा बि.एड गरेका थिए । ।उनले शैक्षिक जनशक्ति विकास केन्द्रबाट १० महिने तालिम पनि लिएका थिए ।
उनले विं.संं.२०४५ बाट पर्साको डेजी बोडिङ स्कुलबाट अध्यापन पेशा सुरु गरेका थिए । काठमाडौंमा एक वर्ष र चितवनको जनजीवन माध्यमिक विद्यालयमा समेत अध्यापन गराएका उनले २०६३ सालबाट माध्यमिक विद्यालयमा स्थायी जागिर पाएका थिए ।त्यस पछी उनले विं.सं.२०५५ बाट जनजागृति माध्यामिक विद्यालयमा शिक्षण गर्न थाले ।
उनी फरक सोच र विचार भएका र विद्यालयमा हुने सबै कार्यक्रमको संयोजन गर्ने विद्यालयका प्रधानाध्यापक विनोद प्रसाद अधिकारीले बताए । उनलाई स्पष्ट र बुझ्ने तरिकाले अध्यापन गराउने , विद्यार्थीले केही गल्ती गरेमा सम्झाउने, नराम्रो बोली वचन कहिले नगर्ने, कहिले नरिसाउने शिक्षकको रुपमा लिईन्छ । उनले शिक्षक पेशा संगसंगै साहित्यिक क्षेत्रमा पनि कलम चलाएका छन् । उनले धेरै कविता र मुक्तकहरु लेखेका छन् ।
मुक्तक
##### मुक्तक #####
धेरै पटक लडेको छु जीवनको मझेरीमा,
जूनकीरीको साथ खोज्छु साउनको अँधेरीमा।
लड्दा खेरि हात थाम्ने सह्रृदयी खोज्दा खोज्दै,
तिर्खाएर आँत सुक्दा पानी पाइन पँधेरीमा।
@@@सुन्दर संसार, हाम्रो घर@@@
रोपौं रूख लगाऔं बोट बिरुवा कान्ला र बारी तल
मिल्ला शीतल मन्द वायु हरदम् त्यो स्वच्छ मीठो जल।
माटो हो धरती पवित्र मनले जाऔं पुकारौं अब,
सच्चा कर्मठ हातले धरणीको सेवा जुटाऔं सब।
फुल्दा फूल वरिपरी घरभरी उल्लास जो छाउँछे
फुर्फुर् पंख फिजाउदै वनचरी आनन्दले गाउँछे।
मीठो सौरभ फैलियो कुसुमले मुस्कान छाडिन् जब,
प्यारा बालक हर्ष ले संगसगै नाचेर आए तब।
हाम्रा सुन्दर कर्मले जगतको दुर्गन्ध निम्ट्याउँदै
भावी सन्ततिको समुन्नति प्रति सद्भाव दर्शाउँदै
त्यागौं गर्न प्रयोग प्लास्टिक अनि रोकौं फडानी वन
बुझ्नै पर्छ भएर मानव यहाँ जङ्गल हाम्रो धन।
आऊ प्रिय सबै मिली धरतीको उत्थान गर्ने गरौ
बाँचौं प्रेमसँगै यहीँ जगतको कल्याणमा नै मरौं।
यी हाम्री धरणी रवि किरणमा मुस्काउँदै रम्दछिन्
पैह्री सारी हरित मेघ नभको ओडेर ती जम्दछिन् ।
तपाइँको प्रतिक्रिया