अबिरल बर्षाको कारण पर्साको ठोरी पनि प्रभावित

ठोरी, असार २७ – बिहीबार रातिदेखि देशभर अबिरल बर्षा भईरहेको छ । अबिरल बर्षाको कारण देशका बिभिन्न क्षेत्र डुबानमा परेका छ्न् भने केही क्षेत्र डुबानको खतरामा रहेको छ । सम्भावित घटनालाई मध्यानजर गर्दै बिभिन्न ठाउँमा सजग रहन आग्रह गरिएको छ ।
यस्तै अविरल बर्षाको कारण मध्य तराईको पर्सा जिल्लामा पर्ने ठोरी गाउँपालिकाको जनजीवन समेत प्रभावित भएको छ।गाउँपालिका भित्रका सबै खहरे खोलामा आएको बाढीका कारण सवारी साधनको आवागमन प्रभावित भएको छ भने सडकको खाल्डाखुल्डीमा जमेको पानीको कारण दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ।
बिरगंज ठोरी र सुवर्णपुर हुँदै नारायणगढ काठमाडौ चल्ने सबै यात्रुबाहक बस चल्न सकेका छैनन् ।हुलाकी सडक खण्ड अन्तरगत पर्ने मालीवस्ती,निर्मलवस्ती,रामनगर र ठुटेखोलाको बीच पर्ने सडक खण्ड ,ओडार खोला लगायतका ठाउँमा सवारी ओहोरदोहोर गर्न कठिन हुने गरी बर्षाले क्षति पुर्याएको स्थानिय रेडियो विजयवस्तीले जानकारी दिएको छ ।
रेडियो विजयवस्तीका अनुसार आर्थिक बर्षको अन्त्य हुन लागेकाले गाउँपालिका भित्र संचालित विभिन्न विकास योजनाको काम सम्पन्न गरेर भुक्तानी लिन आउने सेवाग्राहीहरु समेत भारी बर्षाका कारण गाउँपालिका कार्यालय घ्याङडाडामा आउन नसकेको गापा कार्यालयले जनाएको छ।उता ठोरीका सबै सामुदायिक विद्यालयमा सन्चालन भैरहेको प्रथम त्रैमासिक परीक्षा समेत बर्षाको कारण प्रभावित बनेको छ।
केहि बिद्यालयहरुले निर्धारित समय भन्दा ढिलो गरि परीक्षा सन्चालन गरेको भएपनि केहिले परीक्षा नै स्थगित गरेका छन् ।एकातिर बर्षाको कारण बिद्यार्थी बिधालय आउन नै कठिन भएको र अर्कोतिर कक्षाकोठामा पानी चुहिएकोले बस्न समेत कठिन हुने अवस्थाका कारण परीक्षा सन्चालन गर्न असाध्यै अपठ्यारो परेको ज्ञान ज्योति मावि घ्याङ्डाडाका सहायक प्रधानाध्यापक चन्द्र बहादुर श्रेष्ठले बताए ।उनले बर्षाकै कारण निर्धारित समय भन्दा २ घन्टा पछि परीक्षा सन्चालन भएको जानकारी दिए ।
केहि दिनदेखिको झरी र गएरातीदेखिको मुसलधारे बर्षाको कारण ठाउँठाउँमा घरहरू डुबानमा परेका छन् ।ठोरी ३ र ४ को निर्माणाधीन हुलाकी सडकमा बनाइएको नालाको कारण घरहरू डुबानमा परेका हुन् ।वडा ४ को विशालचोक,फायरलाईन,विजयवस्ती लगायतका ठाँउका घरहरु डुबानमा परेको स्थानीयले बताएका छन् ।
त्यस्तै रातीदेखिको भीषण बर्षाले किसानहरुलाई समेत सास्ती पुर्याएको छ।मकै खेती गरेका किसानहरुको मकैबारी डुबानमा परेको छ भने धानखेती गरेका किसानहरुको खेतको आली पानीले भत्काउन थालेको विजयवस्तिका किसान तेज बहादुर श्रेष्ठले बताए ।
उता साबिक ठोरीमा बिजुलीको पोल ढलेकाले त्यस क्षेत्रमा बिद्धुत सेवा अबरुद्ध भएको सुवर्णपुर बिद्धुत फ्युज सेवाका प्रमुख रामलालले जानकारी दिए।उनले मर्मतका लागी बाइक समेत जान नसक्ने अवस्था भएकाले वडा ४ सम्म मात्र बिद्धुत सुचारु गरिएको जानकारी दिए।
तपाइँको प्रतिक्रिया