एस क्यू सी चितवन हब’को दुईदिने प्रशिक्षण सम्पन्न

भरतपुर,असार २६ – ‘क्वेष्ट नेपाल’द्वारा राष्ट्रव्यापी रुपमा आयोजित ‘एस क्यू सी सहजकर्ता प्रशिक्षण अभियान’ अन्तर्गत चितवन शाखाले पनि दुईदिने सहजकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। पन्ध्रवटा विद्यालयबाट २३ जना प्रशिक्षार्थी-शिक्षकहरूको सकृय सहभागिता रहेको उक्त कार्यक्रम भरतपुर अवस्थित आइल्याण्ड जंगल रिसोर्टमा सम्पन्न भएको हो।
एस क्यू सी अर्थात् विद्यार्थी गुणीय चक्र अन्तर्गत देशभरका दुईसय भन्दा बढी विद्यालयहरुमा अभ्यास रहेको छ। ‘एस क्यू सी’ले विद्यार्थीहरुको समूह (सर्कल) बनाई ‘असल र तीक्ष्ण’ गुण सहित ‘पूर्ण गुणवान व्यक्तित्व’ बनाउँदै बालबालिकाको व्यक्तित्व विकासमा सहयोग गर्दछ।‘केस स्टडी’ मार्फत् शैक्षिक तथा अन्य व्यवहारिक समस्याहरुको पहिचान गरी समूहगत रुपमा समाधान गर्ने महत्वपूर्ण पक्ष नै ‘एस क्यू सी’को विशेषता हो। करीब दुई दशक अघि प्रा. दिनेश चापागाईंद्वारा प्रतिपादित ‘विद्यार्थी गुणीय चक्र’को प्रभावकारिता सँगै विद्यालयका विद्यार्थीमाझ लोकप्रिय पनि उत्तिकै हुँदै आएको छ।
कुनै पनि विद्यालयले आफूलाई ‘एस क्यू सी विद्यालय’ बनाउनको लागि कम्तीमा एकजना ‘एस क्यू सी’ प्रशिक्षित सहजकर्ता शिक्षक हुनुपर्ने प्रावधान अनुरुप चितवन हबले पहिलो पटक उक्त प्रशिक्षण तालिम कार्यक्रम सञ्चालन गरिएको कुरा चितवन हब संयोजक ओमराज मैनालीले बताए। चितवनको पहिलो ‘एस क्यू सी विद्यालय’ अर्किड स्कूलले विगत तीन वर्षदेखि ‘एस क्यू सी’का विभिन्न गतिविधि सञ्चालन गर्दै आएको र गत शैक्षिक सत्रदेखि एस क्यू सी पाठ्यक्रम समेत लागू गरिसकेको छ।
चितवन, नवलपरासी र बारा जिल्लाका विद्यालयहरुबाट सहभागी प्रशिक्षार्थीहरुलाई ‘क्वेष्ट नेपाल’का सचिव तथा मुख्य प्रशिक्षक सिंह लामाले प्रशिक्षण दिएका थिए।
प्याब्सन, चितवनका अध्यक्ष टीकाराम चापागाईं प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको उद्घाटन समारोहमा भरतपुर इङ्गलिस स्कूल्स् सोसाइटी (बेस) का अध्यक्ष लक्ष्मीकान्त चालिसे, सैनिक आवासीय महाविद्यालय, चितवनका प्रिन्सिपल बाबुराम बन्जाडे, नेपाली सेनाका मेजर लेखनाथ कठायत, चितवन हबका सल्लाहकार बाबुराम खनाल, सिमरा हब संयोजक भोजराज सुबेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए।
साथै, क्वेष्ट नेपालका निवर्तमान अध्यक्ष निराजन अधिकारीको प्रमुख आतिथ्य रहेको समापन समारोहमा स्मल हेभन मोडल स्कूलका प्राचार्य विमल क्षेत्री लगायतले दीक्षित प्रशिक्षार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए। उक्त कार्यक्रम चितवन हबका संयोजक ओमराज मैनालीको अध्यक्षतामा सम्पन्न भएको थियो।
तपाइँको प्रतिक्रिया