दुई संस्थाको इच्छुकमा व्यापारिक पानीजहाज सञ्चालन गर्ने

काठमाडौँ, असार २५ – नेपालमा पानीजहाज कार्यालय स्थापनासंँगै अन्तर्राष्ट्रिय सामुद्रिक क्षेत्रमा पानी जहाज सञ्चालनका लागि केही संस्थाले इच्छा देखाउन थालेका छन् । नेपाली ध्वजावाहक झण्डा अन्तरराष्ट्रिय सामुद्रिक क्षेत्रमा फरफराउने गरी व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई समूहले इच्छा देखाएका छन् । दर्ताका लागि कम्पनीको अनुमतिपत्र लिनका लागि ललितपुरस्थित नेपाल पानी जहाज कार्यालयमा ती समूह पुगेका छन् ।
कार्यालयबाट अनुमपतिपत्र प्राप्त गरेपछि मात्र कम्पनीले समुद्रमा पानीजहाज सञ्चालन गर्ने पाउने व्यवस्था छ । कार्यालयका रजिष्ट्रार ऋषिराम कोइरालाले कार्यालयमा व्यापारिक पानीजहाज सञ्चालनका लागि इच्छा देखाउँदै दुई प्रस्तावित कम्पनी अनुमतिका लागि आएका बताए ।
‘‘नेपाली ध्वजावाहक झण्डासहित व्यापारिक पानीजहाज सञ्चालनका लागि हामीकहाँ दर्ता गर्नका लागि दुई कम्पनी आइसकेका छन्’’ उनले बताए तर उनिहरुसँग त्यो अनुमति दिनका लागि ऐन कानून नभएकोले दिन नसकेका कोइरालाले बताए । ती कम्पनीका मानिसले आफूहरुले कानूनका लागि सहयोग गर्नेसमेत बताएका छन् ।
कार्यालयले समुद्रमा नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन गर्नका लागि आवश्यक कानून बनाइरहेको छ । कानून बनिसकेपछि कार्यालयमा कम्पनी दर्ता भई समुद्रमा पानीजहाज सञ्चालन गर्नेछन् । विसं २०२७ मा बनेको पानी जहाजसम्बन्धी ऐनले अहिलेको अन्तरराष्ट्रिय कानूनलाई नसमेट्ने भएकाले नयाँ कानून बनाउन थालिएको रजिष्ट्रार कोइरालाले बताए ।
अन्तरराष्ट्रिय कानूननियमलाई समेटेर पानी जहाजसम्बन्धी एकीकृत ऐन बनाउन थालेका र पहिलेको ऐनले अहिलेको विश्व परिस्थितिलाई समेट्न नसक्ने भएकोले पहिलेका ऐननियमलाई खारेज गर्दै नयाँ ऐन बनाउन थालेको उनले जानकारी दिए ।
विसं २०२७ मा नेपाली ध्वजावाहक झण्डा समुद्रमा फरफराउनका लागि पानीजहाज दर्तासम्बन्धी ऐन २०२७, नेपाली पानी जहाज दर्ता नियमावली –२०२८, नेपाली पानीजहाज (प्रमाणपत्र रोजानाच्चा) ऐन २०२७ र नेपालको प्यापारिक पानीजहाजको झण्डासम्बन्धी ऐन २०२७ ल्याइएको थियो । उनका अनुसार विज्ञ समूहको सहभागितामा कार्यालयले कानून बनाउने छ ।
कार्यालयले यही आर्थिक वर्षमा विज्ञ समूह झिकाई कानून बनाउने भने तापनि प्राविधिक कारणले नसकिएको कार्यालयका सिनियर डिभिजनल इञ्जिनीयर विपीन राजभण्डारीले जानकारी दिए । उनले विज्ञ समूहलाई ल्याएर ऐन बनाइने भएकाले अझै समय लाग्ने बताए । यही वर्ष भित्र ऐन बनाएर कम्पनी दर्ता गरी समुद्रमा व्यापारिक पानीजहाज सञ्चालनका लागि अनुमति दिने तयारीमा रहेका र आउँदो आर्थिक वर्षदेखि विज्ञसमूह बोलाएर ऐनको मस्यौदा बनाउने उनले बताए ।
ऐन बनाएर अनुमतिपत्र दिनका लागि अझै १० महिनाजति लाग्नेछ । पानीजहाज सञ्चालन गर्नका लागि २७ अन्तरराष्ट्रिय सन्धिमहासन्धिको पालना गर्नुपर्ने हुन्छ । कार्यालयले इन्टरनेशनल मेरिटाइन अर्गनाइजेशन (आइएमओ) को नियम पालनासम्म गर्नुपर्ने हुन्छ ।
मेरिटाइन अर्गनाइजेशन पानीजहाजसम्बन्धी नियमपालना गराउने अन्तरराष्ट्रिय संस्था हो । यसैगरी कार्यालय पहिलो पटक आन्तरिक जलयान सञ्चालनका लागि ‘जलयान सञ्चालनसम्बन्धी नियमावली ल्याउने तयारीमा रहेको छ । नियमावलीले जलयान दर्ता तथा नियमनसम्बन्धी काम गर्ने कार्यालयका रजिष्ट्रार कोइरालाले जानकारी दिए ।
उनका अनुसार अहिले नियमावलीको मस्यौदा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ । नियमावली बनेपछि कोशी र नारायणीमा सञ्चालन हुने जलयान कार्यालयमा दर्ता गर्नुपर्ने हुन्छ । कार्यालयमा अधिकांश कर्मचारी अर्धदक्ष छन् । पानीजहाजसम्बन्धी काम गर्न दक्ष जनशक्ति चाहिए पनि अधिकांश कर्मचारी अर्धदक्ष रहेको कार्यालयका सिनियर डिभिजन इञ्जिनीयर राजभण्डारीले जानकारी दिए । उनले पानीजहाजसंँग सम्बन्धित दक्ष इञ्जिनीयरको खोजी भइरहेको उनले बताए ।
‘‘कार्यालय स्थापनासंँगै पानीजहाजसम्बन्धी ‘मेरिन इञ्जिनीयर’ सम्पर्कमा आउने गरेका छन्’’, उनले जानकारी दिए । इञ्जिनीयरलाई आवश्यकताअनुसार काममा लगाउने सकिने भएकाले सम्पर्कमा रहिरहन भनेका र ती मेरिन इञ्जिनीयरले भारत र जापानका पानीजहाजमा समेत काम गरिसकेका अहिले पाँच इञ्जिनीयरसहित १६ कर्मचारी रहेको उनले बताए । सरकारले समुद्रमा पानीजहाज सञ्चालन गर्नका लागि गत फागुन २ गते कार्यालय स्थापना गरेको हो । रासस
तपाइँको प्रतिक्रिया