सकियो तीनदिने आर्थिक पत्रकारिता तालिम

असार २४, चितवनः नेपाल पत्रकार महासंघ चितवन शाखा र उद्योग वाणिज्य संघ चितवनको संयुक्त आयोजनामा संचालित तीन दिने आर्थिक पत्रकारिता तालिम आज नारायणगढमा सम्पन्न भएको छ । तालिममा चितवनमा रहेका संभावित क्षेत्रहरुको उजागर गर्दै पत्रकारहरुले कलम चलाउने विश्वास गरिएको छ । उक्त अवधिमा आर्थिक पत्रकारिता अन्र्तगत शेयर, मौद्रीक नीति , पौल्ट्री, उद्योग, पर्यटन, कृषि र बजेट विनियोजन बिषयमा तालिम दिइएको थियो । तालिमको सहजीकरण आर्थिक पत्रकार रमेशकुमार न्यौपानेले गरेका थिए ।
तालिममा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख महेन्द्र प्रसाद भण्डारी, पौल्ट्री विज्ञ डाक्टर तिलचन्द्र भट्टराइले प्रशिक्षण दिएका थिए । यस्तै अन्नबाली सम्बन्धी तालिम मित्रराज दवाडी र शेयर सम्बनधी तालिम पिएचडी स्कलर मधुसुधन लामिछाने र उद्योग सम्बन्धी तालिम चितवन उद्योग संघका सदस्य युगराज वस्तीले दिएका थिए ।
समापन कार्यक्रममा बोलदै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले यस प्रकारको तालिम संचालन गर्ने झण्डै एक दशक अघिदेखिको आफ्नो चाहना पुरा भएको वताए । तालिममा सिकेका बिषयलाई पत्रकारले चितवनमा रहेको आर्थिक क्षेत्रको उजागर गर्न यस तालिमले थप मदत पुरयाउने विश्वास लिएको प्रधानले बताए । आर्थिक पत्रकारिताबाट यहांँका पत्रकारले देशकै प्रतिनिधित्व गर्दै लेखनमा गुणात्मक फड्को मार्ने उनको भनाई छ ।
सो अवसरमा तालिममा सहभागी पत्रकारलाई २८ वटा आर्थिक बिषयमा फिचर समाचार लेख्न बिषयवस्तु छनौट गरिएको थियो । समाचार तयार भएपछि संघले पुस्तक प्रकाशित गर्ने जनाएको छ । तालिममा २८ जना पत्रकारले सहभागिता जनाएका थिए ।
तपाइँको प्रतिक्रिया