सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि सरकारले ल्यायो यस्तो नयाँ प्रावधान

असार २३,काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि सरकारले नयाँ प्रावधान ल्याएको छ । प्रदेश ३ सरकारले १८ वर्ष पुगेपछि मात्र लाइसेन्स दिने कानुन बनाएको छ । हालको कानुनअनुसार १६ वर्ष पुगेपछि दुईपांग्रे सवारीको लाइसेन्स लिन सकिने भए पनि अब भने १८ वर्ष पुगेको हुनुपर्ने बताइएको छ ।
नयाँ व्यवस्थासहितको ‘प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०७५’ १८ माघमै राजपत्रमा प्रकाशित भइसकेको छ । नयाँ प्रावधान लागू गर्न प्रदेश सरकारले केन्द्रीय सरकारलाई आग्रह गरेको छ । यातायात व्यवस्था कार्यालय ठूलो भर्याङकी प्रमुख कमला थापा खत्रीले केन्द्रीय सिस्टमअनुसार नै काम हुने भएकाले नयाँ कानुन लागू हुन नसकेको बताउनुभयो ।
प्रदेश ३ सरकारले बनाएको कानुनमा लाइसेन्सका लागि १८ वर्ष उमेर पुग्नुपर्ने प्रावधान छ , नयाँ प्रावधान लागू गर्न हामीले यातायात व्यवस्था विभागलाई भनेका बताउनुभयो । तर, विभागको सिस्टम परिवर्तन भएको छैन । यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने प्रदेश सरकारले बनाएको कानुन लागू नहुने सम्भावना रहेको बताउनुभयो ।
संघीय कानुनसँग बाझिने प्रदेश कानुन लागू हुन सक्दैन, लाइसेन्सका लागि न्यूनतम उमेर १६ नै हुने बताउनुभयो । ‘हामीले नयाँ कानुन बनाउनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति पाइसकेका छौँ बताउनुभयो केन्द्रीय कानुन निर्माण भइसकेपछि प्रदेश सरकारहरूले त्यहीअनुसार एकरूपता हुने गरी कानुन बनाउनुपर्छ ।’देशैभरका यातायात कार्यालय प्रदेश सरकारमातहत गइसकेका छन् । तर, सिस्टम भने यातायात व्यवस्था विभागले नै नियन्त्रण गर्दै आएको छ ।
तपाइँको प्रतिक्रिया