माडीको बैकुण्ठमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको मृत्यु

माडी, असार २२ – पौडी खेल्ने क्रममा माडीको बैकुण्ठ तालमा बेपत्ता भएका युवाको मृत्यु भएको पुष्टी भएको छ । पौडी खेल्दै गर्दा तालको छहरा नजिकैबाट बेपत्ता भएका भरतपुर महानगरपालिका वडा नं. ७, बुद्धचोक निवासी बर्ष १९ का अभिनव त्रिपाठीको मृत्यु भएको पुष्टी भएको हो ।
दिवंगत त्रिपाठीको खोजीका लागि माडीका स्थानीय प्रहरी र स्थानीयबासीबाट सम्भव नभएपश्चात शसस्त्र प्रहरी बलको गोताखोर टोली परिचालित भएको थियो । शसस्त्रको कुरिनटार बेसबाट हरिकृष्ण गीरिको नेतृत्वमा खटिएको १० जना गोताखोरको टोलीले त्रिपाठीको शव दिउँसो करीब १२:३० बजे पानीबाहिर निकालेको हो ।
शनिवार बिदा मनाउन तथा बैकुण्ठ तालमा पौडिन आएका त्रिपाठीको शव हिलोमा गडेको अवस्थामा फेला परेको हो । बैकुण्ठ तालको बीचभागमा शव भेटिएको गोताखोर समूहले जनाएको छ । पौडी खेल्ने क्रममा थाकेर वा पौडन नसकेर उनी डुबेको हुनसक्ने अनुमान गरिएको छ । उनको शव पोष्टमार्टम र अन्तिम संस्कारका लागि भरतपुर लैजान लागिएको छ ।
तपाइँको प्रतिक्रिया