सहस्र नेपाली हाइकु संग्रह “वसन्त वृक्ष” मा हाइकु लालित्य

किरण पौडेल
शंकर लामिछानेद्वारा सूर्योदय शीर्षकमा रचित वि.स. २०१९ को भदौ अङ्कको रुपरेखामा छापिएको हाइकु नै नेपालको इतिहासमा पहिलो हाइकु भनेर चिनिन्छ । पाँच/सात/पाँच अक्षरको परिधीमा रहेर तिन हरफमा लेखिने जापानी शैलीको कविता हाइकुले नेपाली साहित्यमा आफूलाई स्थापित बनाउन सफल छ । केही दशकको अवयवहरु पार गर्दै हाइकु साहित्य आजको यस सशक्त अवस्थामा आइपुगेको यथार्थता हामी सामु छ ।
वि.सं २०६० सालमा नेपाल निप्पन रिसर्च सेन्टर स्थापनाले नेपाली हाइकुलाई आधुनिकता तर्फ डोराएको थियो भने वि.स. २०६२ मा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाण्डौंमा प्रा. राम कुमार पाँडे र प्रकाश पौडेल माइलाको सकृयतामा नेपाली हाइकु महोत्सव २०६२ भव्य समारोहका साथ सम्पन्न भएको थियो । पहिलो महोत्सव सम्पन्न भएको लगभग १३ बर्षको अन्तरालमा गतवर्ष जापानीज हाइजिनहरु समेतको सहभागितामा जापान मै अन्तराष्ट्रिय नेपाली हाइकु महोत्सव २०१८ सम्पन्न भएको थियो ।
सहस्र नेपाली हाइकु संग्रह “वसन्त वृक्ष” का स्रजक हाईजिन वासुदेव गुरागाईं नेपाली साहित्यका स्थापित व्यक्तित्व हुन् । नुवाकोट दुप्चेश्वर स्थायी वतन भएका वासुदेव गुरागाईं नेपाल सरकारका सेवा निवृत्त सह-सचिव समेत हुन् । विभिन्न पेशा र कार्यमा संलग्न व्यक्तित्वहरु समेत हाइकु लेखनमा आवद्द हुनुले नेपाली हाइकु क्षेत्र अझ परिष्कृत हुने मौका पाएको अनुभव गर्न सकिन्छ । उनले वि.सं. २०५३ सालमा स्वागत नामक फुटकर कविता संग्रहबाट आफ्नो साहित्यिक यात्रा शुरु गरेका थिए । सेवारत रहँदा फुर्सदको समयलाई सदुपयोग गर्दै साहित्य सृजनामा अव्वल मानिएका गुरागाईंले कथा नियात्रा कविता हास्य व्यंग्य लगायत विधामा कलम चलाई सकेका छन् ।
दायित्व वाङ्मय प्रतिष्ठान का आजिवन सदस्य रहेका उनी साहित्य सम्बन्धि अनेकौं पुरस्कारबाट विभूषित भइसकेका छन् । हालसम्म उनको लेखन तथा सम्पादनमा विभिन्न किसिमका दर्जनौं पूस्तकहरु प्रकाशित भई सकेका छन् । हास्यव्यंग्य काव्य “नेता चिरन्जिवी भव”, हास्य व्यंग्य निबन्ध संग्रह “थोते हाँसो”, फुटकर काव्यिक रचनाहरुको सँगालो “बास उठेका चराहरु”, नियात्रा संग्रह “मोफसलको मधुरिमा”, हास्य व्यंग्य निबन्ध संग्रह “बाजेको सेकुवा” छोटा कथा संग्रह अनुमानित निष्कर्ष कथा संग्रह “समयान्तर” साथै “नुवाकोटका पशुपति दुप्चेश्वर महादेव” जस्ता कृतिहरु उहाँका चर्चित कृतिहरु हुन् । उनकै सम्पादनमा वि.सं. २०७३ मा निर्वाचन आयोगद्वारा नेपालको निर्वाचन इतिहास तथा वि.सं. २०७३ मा राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटद्वारा माटोको ममता प्रकाशन भएका थिए ।
लेखकले साठीको दशकको स्मरण गर्दै बि.के पाल्पालीसँगको सामिप्यताले हाइकु साहित्यको काउकुती लागेको विषयलाई रोमान्चक किसिमले वसन्त वृक्ष पूस्तकमा उल्लेख गरेका छन् । विसं २०६४ सालमा प्रकाशित आफ्नै काव्य संग्रह बास उठेका चराहरु मा उनले आफ्ना केही हाइकुहरु समावेश गरी प्रकाशन गरेका थिए । हाइकु संग्रहकै प्रकाशनका हिसावले “वसन्त वृक्ष” उनको पहिलो कृति हो । उनले आफ्नो जीवन भोगाईका अनुभवहरुलाई शसक्त रुपमा यस वसन्त वृक्ष पूस्तकमा उतारेका छन् ।
पूस्तकको कभर पेजमा रहेको वृक्षमा वसन्त पालुवाहरु पलाउँदै गरेको आकृतिले पूस्तकको नामलाई सार्थक बनाएको देखिन्छ । यस पूस्तकको शुरुवातमा लेखकले कुरा खस्रा मिठा भन्ने शीर्षकमा आफ्ना गहकिला भनाईहरु लेखेका छन् । यसमा हाइजिन गुरागाईंले हाइकुको बारेमा निकै गहिरो अध्ययन गरी यो पूस्तक प्रकाशन गरेका छन् भन्ने प्रष्टसँग झल्केको पाईन्छ । हजारवटा हाइकुहरु समावेश भएको यस पूस्तकमा हाइजिनले प्रत्येक हाइकुको पहिलो अक्षर नेपाली वर्णमालाको शुरुको अ देखि अन्तिम अक्षर ज्ञ सम्मको प्रयोग क्रमिक रुपमा गरेका छन् जसका कारण अहिले सम्म प्रकाशित हाइकु पूस्तक मध्ये यस पूस्तकलाई अरुभन्दा भिन्न विशेषता भएको हाइकु संग्रहको रुपमा लिईन्छ । हाइजिन गुरागाईंले वसन्त वृक्ष मार्फत् हाइकु पूस्तकहरुको शसक्त प्रस्तुतीलाई थप उचाईमा पुराएका छन् । यस पूस्तकले हाइकु क्षेत्रमा रुचि राख्ने जो कोहीलाई पनि हाइकु सम्वन्धि गतिलो खुराक प्रदान गर्ने पूर्ण विश्वास लिन सकिन्छ ।
यस पुस्तकमा उत्कृष्ट र सान्दर्भिक बिषयवस्तुहरु समाहित छन् । वसन्त वृक्ष हाइकु संग्रहको बजार मूल्य रु. ४०० कायम गरिएको छ । विभिन्न परिवेश र विविध बिषयमा हाइकुहरु सृजना गरिएको भएता पनि हाइजिन गुरागाईंको पहिलो हाइकु अक्षर अ बाट शुरु गरिएको छ भने अक्षर ज्ञ मा गएर टुंग्याईएको छ ।
अँधेरी रात
सुमधुर सङ्गीत
लाटोकोसेरो
ज्ञानको ज्योति
अविचलित यात्रा
साँचो गन्तव्य
गुरागाईंका हाइकुमा प्राकृतिक बिम्बहरु प्रशस्तै समेटिएका छन् जहाँ प्रेम र स्नेह प्रशस्तै मात्रामा भेट्न सकिन्छ । वसन्त वृक्ष भित्रका ती बिम्बहरुले प्राकृतिक बिम्बको सहारामा स्नेह र ममतालाई दर्शाएका छन् ।
तारा महल
जुनको उज्यालोमा
प्रेयसी खोज्दै
निलो आकाश
सुनौलो घामभित्र
सम्भोग गर्छ
उनले आफ्ना हाइकुहरुमा राष्ट्रियताको भाव पनि सशक्त रुपमा उजागर गरेका छन् । बिम्बको सहारामा माटो प्रतिको स्नेह र राष्ट्रियता दर्शाएका छन् ।
सेतो गुलाफ
रङ्गिन लालुपाते
नेपाली मन
हिउँको डल्लो
तराईको माटोमा
उज्यालो पोख्छ
विभिन्न क्षेत्रको संलग्नतासँगै अनुभवले तिखारिएका वासुदेव गुरागाईंका हाइकुहरुमा प्रणय र प्रकृतिको भाव झल्केको पाईन्छ । उनका यिनै भावहरु हाइकुको माध्यमबाट “वसन्त वृक्ष” मा संग्रहित भएर आएका छन् । “वसन्त वृक्ष” हाइकु संग्रहमा संग्रहित हाइजिन गुरागाईंका हाइकुहरु अत्यन्तै उत्कृष्ट छन् साथै नियम र परिधी भित्र रहेर सृजित छन् । आफ्ना हाइकुहरूमा हाइकु संरचनाको मर्मलाई उनले आत्मसात् गरेका छन्, । संग्रहमा रहेका हाइकुहरूले प्रेम, यौवन, प्रकृति, मानवीय स्वाभाव र सामाजिक परिवेश लगायत राष्ट्रियताको सजीव र सशक्त चित्रण गरेका छन् । हाइजिन गुरागाईंले यस पूस्तकमा हाइकुको ईतिहास देखि वर्तमान सम्मको अवस्था समेत केलाउने प्रयास गरेका छन् ।
हाइकुहरुमा प्रयोग भएका केही शव्दहरुको शव्दार्थ सूचि पूस्तकको अन्त तिर समावेश गरेका छन् भने सन्दर्भ सामाग्री पनि उल्लेख गरेका छन् । यसमै हजार हाइकु पूस्तकको विषय पनि उल्लेख छ जुन पूस्तक गतवर्षको चर्चित हाइकु पुस्तकको रुपमा रहेको थियो । अन्त्यमा हाइकुसँग सम्बन्धित र सान्दर्भिक विषय पनि जोड्ने जमर्को गरेको छु । गतवर्ष वर्ल्ड हाइकु एशोसिएसनले नेपाललाई पहिलो विदेशी राष्ट्रको रुपमा उक्त हाइकु एशोसिएसनमा भित्र्याएको थियो ।
यसरी वर्ल्ड हाइकु एशोसिएसनको छनौटमा परेका नेपाली चर्चित हाइजिन हुन् प्रकाश पौडेल माइला । यस छलाङ्लाई नेपाली हाइकु जगतले ठुलो उत्साह, गौरव र अवसरको रुपमा समेत लिएको छ । तसर्थ नेपाली हाइकुले आगामी दिनमा अन्तराष्ट्रिय स्तरका विभिन्न चुनौतीहरु समेत सामना गर्दै कुशलतापूर्वक अघि बढ्नु पर्ने आवश्यकता देखिन्छ । श्रीलंका, जापान, बङ्गलादेश, भारत, दक्षिण कोरिया, फिलिपिन्स, चीन जस्ता देशहरुको भ्रमण गरी अन्तराष्ट्रिय जगतको विविध विषयको ज्ञान हासिल गरिसक्नु भएका हाइजिन वासुदेव गुरागाईंले हाइकु क्षेत्रमा आउन सक्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जुनसुकै किसिमका साहित्यिक चुनौतीहरु समाधान गर्न सफल हुनुहुनेछ भन्ने कामना गर्दछु ।
तपाइँको प्रतिक्रिया