घरभित्र मृत भेटिए एउटा सिङ्गो परिवार, सबैको अनुहारमा ‘कालो टेप बेरिएको’

एजेन्सी, असार २० – भारतको गजियाबादस्थित न्यू शताब्दीपुरमा एउटा घरबाट श्रीमान्, श्रीमती र उनका तीन सन्तानको शव भेटिएको छ । पाँचैजनाको मुखमा कालो टेप बेरिएको थियो । पुलिसले यसलाई हत्या र आत्महत्याको कोणबाट हेरिरहेको छ ।
भारतीय मिडियामा प्रकाशित रिपोर्ट अनुसार श्रीमानको नाम प्रदिप हो, उनकी श्रीमती एम्समा स्टाफ नर्स थिइन् । बच्चाहरुको उमेर ८, ५ र ३ बताइएको छ । श्रीमानलाई रक्सीको लत थियो । घटनाको कारण स्पष्ट छैन । शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।
प्राप्त जानकारी अनुसार ४२ वर्षका प्रदीप नामका व्यक्ति आफ्ना आमा–बुवा, बहिनी र तीन सन्तानसहित बसिरहेका थिए । प्रदीप र उनकी श्रीमती र तीन सन्तान एउटा कोठामा सुतिरहेका थिए । शुक्रबार बिहान जब उनीहरुको कोठाको ढोका खोलिएन र कुनै गतिविधी पनि देखिएन तब ढोका ढक्ढकाइयो ।
तरपनि भित्रबाट कोही बोलेनन् । परिवारलाई शंका लागेपछि झ्यालबाट भित्र हेरियो । खाटमाथि प्रदीप र उनका तीन सन्तानको शव देखियो । प्रदीप र उनका बच्चाहरुको मुखमा करिब चार इन्च चौडा कालो रङको टेप नराम्रोसँग बेरिएको थियो जबकी ४० वर्षीया श्रीमती संगिता खाटमुनी अचेत अवस्थामा थिइन् ।
उनको टाउकोमा गम्भीर चोट थियो र उनी तड्पिरहेकी थिइन् । नजिकै रगत लत्पित्तिएको हथौडा थियो । भारतीय मिडिया आजतकका अनुसार उनलाई तत्काल अस्पताल पुर्याइयो । पछि उनको मृत्यु भयो । पुलिसले प्रदीप र उनका तीन सन्तानको शव पोष्टमार्टमका लागि पठाएको छ ।
सुरुवाती अनुसन्धानमा कोठाभित्र कुनै सुसाइड नोट पनि नभेटिएको पाइएको छ । पुलिसले सुरुवाती अनुसन्धानपछि प्रदीपले आफ्नी श्रीमतीको टाउकोमा हथौडाले हमला गरेको र त्यसपछि तीन सन्तानको मुखमा कालो टेप लगाएर हत्या गरेको हुनसक्ने अनुमान गरेको छ ।
त्यसपछि आफूले पनि मुखमा टेप बेरेर आत्महत्या गरेको अनुमान गरिएको छ । अर्को कोठामा सुतिरहेका आमा–बुवाले आफूले कुनै पनि आवाज नसुनेको बताए । (एजेन्सी)
तपाइँको प्रतिक्रिया