नेकपा संसदीय दलको बैठकमा पार्टी र सरकारको चर्को आलोचना

असार १६, काठमाडौँ – सत्तारुढ नेकपाको संसदीय दलको बैठकमा पार्टी र सरकारका सञ्चालनबारे सांसदहरुले चर्को असन्तुष्टि जनाएका छन्।
सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको नेकपा दलको बैठकमा पहिलोपटक सांसदहरुले सरकार र पार्टी सञ्चालनको तौरतरिकाबारे खुलेर आलोचना गरेका हुन्। संघीय संसद गठन भएको डेढ वर्षको अवधिमा पहिलोपटक दलको बैठकमा सांसदहरुलाई बोल्न दिइएको थियो।
यसअघि एकता समयमा बस्ने बैठकमा प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओली र अर्का अध्यक्षले मात्र धारणा राख्ने गरेका थिए। सरकार र पार्टी सञ्चालनबारे छलफल नै हुन छाडेको र सरकारले गरेका निर्णयविरुद्ध नेकपाकै सांसदहरु सार्वजनिक रुपमा उत्रेपछि पार्टीभित्रको असन्तुष्टि मथ्थर पार्न दलको बैठक राखेर सांसदहरुलाई बोल्न दिइएको हो।
सांसदहरुले पार्टीको केन्द्रीय समिति, स्थायी समिति वा दलको बैठकमा आफ्ना धारणा राख्न नपाउँदा संसद र सार्वजनिक मञ्चबाट बोल्न आफूहरु बाध्य भएको जानकारी गरएका थिए।
सोमबार २९ जना सांसदले धरणा राखेका छन् भने बाँकीलाई शनिबार पुनः बस्ने बैठकमा बोल्न दिइने सांसद देवेन्द्र पौडेलले जानकारी दिए। बैठकमा सरकार र पार्टीमा भएका कमीकमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने विषयमा सुझाव आएको प्रमुख सचेतक देवगुरुङले जानकारी दिए। देशसञ्चारबाट
तपाइँको प्रतिक्रिया