अधिकृत निराैलाको कार्यालय झापा, घुस ‘बार्गेनिङ’ अमेरिका

असार १५, काठमाडौं,टीकादेवी अधिकारी अहिले अमेरिकामा छिन्। झापा दमक नगरपालिका–३ बेल्डाँगी शरणार्थी शिविरमा बसोबास गर्ने उनी सन् २००८ मा तेस्रो देश पुर्नवास कार्यक्रम अन्तर्गत अमेरिका पुगेकी हुन्।
बुवाआमा धनपति र डम्बरकुमारी खनाल यतै बेल्डाँगी शिविरमै रहे।
आफ्नो देश छोडेर शरणार्थी जीवन बिताउनुको पीडा छँदै थियो। परिवार छिन्नभिन्न भएपछि आमाबुवा एवं छोरी दुवै पक्षलाई भावनात्मक रुपमा गाह्रो भयो। विछोडको पीडाले दुवैलाई दुःखायो।
बेल्डागी शिविर, सेक्टर डी–२, छाप्रा नं. ३८ मा बसोबास गर्ने खनाल दम्पतीलाई बिरामी हुँदा अस्पताल लैजाने मान्छे समेत भएन। यही पीडा एक दिन धनपतिले छोरीलाई सुनाए।
टीकादेवीको मन भक्कानियो। उनले बुवाआमालाई अमेरिका बोलाउन चाहिन्। उनीहरु पनि जान तयार भए।
तर शरणार्थी जीवन बिताइरहेका उनीहरुको हकमा सामान्य प्रक्रियामा जसरी राहदानी बनाएर भिसा आवेदन गर्न मिल्ने स्थिति थिएन। उनीहरुको प्रक्रिया बेल्डागीस्थित शरणार्थी समन्वय इकाइ (आरसीयु) ले अघि बढ्नु पर्छ। सो कार्यालय गृह मन्त्रालय अन्तर्गतको हो।
यसले शरणार्थी प्रमाणीकरणको प्ररम्भिक कागजात अघि बढाउँछ। खनाल दम्पत्ति आरसीयु कार्यालय पुगे। कार्यालय संयोजक थिए, शाखा अधिकृत यज्ञ निरौला।
आफूसँग भएका दर्ताका कागजात सबै उनलाई देखाए। ‘काम हुन्छ तर केही खर्च गर्नुपर्छ’, भन्ने जवाफ निरौलाले दिए। बुढाबुढी खिस्रिक्क परेर फर्किए। किनभने उनीहरुसँग जति पैसा मागिएको थियो त्यो सानो रकम थिएन।
खनालको पृष्ठभूमिबारे अर्का शरणार्थी राजमान गुरुङ, जो निराैलाको लेनदेनमा समेत सहभागी हुँदै आएका थिए, जानकार थिए। उनले अमेरिका बस्ने छोरीसँग मागेर दिन सुझाव दिए।
२०७५ वैशाखको एउटा बिहान अमेरिका भएकी छोरीको फोन आयो। दुःखी हुँदै उनीहरुले सुनाए, ‘हाम्रो काम हुन्छ रे। ४ लाख तिर्नुपर्छ रे।’
टेलिफोनमा बुवाआमाको मलिन श्वर सुनेपछि टीकादेवीले अधिकृत निरौला र उनका सहयोगी गुरुङको फोन नम्बर मागिन्। अमेरिकाबाट दुवैलाई फोन गरिन्। शरणार्थीको काम हुन पैसा लाग्दैन किन ४ लाख दिने भनेर टीकादेवीले भनिन्। जिल्ला प्रशासनदेखि मन्त्रालयसम्म खुवाउनु पर्ने निराैलाले बताएर पैसा बार्गेनिंग गरे।
४ लाखको डिल भएका खनाल दम्पत्ती र अन्य त्यस्तै १२ जनाको फाइल बोकेर २०७५ साउन पहिलो साता शाखा अधिकृत निरौला काठमाडौं आए। टोलीले गृहको शरणार्थी शाखामा छलफल छलफल गर्यो।
२०७५ साउन ९ गते गृह मन्त्रालयले खनाल दम्पत्तीसहित १२ जनालाई भुटानी शरणार्थी प्रमाणित गरिदियो। निरौला झापा फर्किए।
तर खनाल दम्पत्तीमाथि सुरक्षा खतरा बढ्यो। अर्थात् पैसा नदिएको भन्दै आरसीयु संयोजक शाखा अधिकृत निरौला र उनका सहयोगी राजमान गुरुङले बिहान–बेलुकै धम्क्याउन थाले। पैसा नदिएसम्म अमेरिकाको प्रक्रिया अघि नबढाइदिने उनीहरुको चेतावनी थियो।
९ महिनासम्म निरन्तर धम्की झेलेपछि २०७६ वैशाख २ गते जिल्ला प्रशासन कार्यालय झापामा धनपतिले उजुरी दर्ता गरे। उजुरीमा भनिएको छ, ‘तपाइँको काम भयो ४ लाख रुपैयाँ देऊ भनेर निरौला र गुरुङले धम्की दिइरहेका छन्। उनीहरूलाइ कारवाही होस्।’
उजुरीबाट नेपाल बसेर अधिकृत निराैलाले अमेरिकामा रहेकी टीकादेवीसँग समेत घुस डिल गरेको प्रस्ट हुन्छ। ‘मसँग कुरा भएको होइन। मेरो अमेरिका बस्ने छोरी टीकादेवीसँग कुराकानी भएको हुँदा उनलाई नै भन्नु म बुढो मान्छेलाई दुःख नदिनु भन्दा निजहरुले तिम्रो छोरीलाई फोन लाग्दैन, उठ्दैन आफैँ कुरा गर्नु भनेर धम्क्याए’, उजुरीमा भनिएको छ।
तपाइँको प्रतिक्रिया