आइफा अवार्डमा राज्यको एक रुपैयाँ पनि खर्च नहुने आयोजकको दाबी

असार १५,काठमाडौँ– नेपालमा हुने भनिएको इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी ‘आइफा’ अवार्डको लागि नेपालको राज्यकोषबाट खर्च नहुने आयोजकले बताएका छन्। यो कार्यक्रमका लागि नेपाल पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिकासँगै होटल एसोसियसन्स नेपाल (हान), नेपाल उद्योग परिसंघ नेपाल, उद्योग वाणिज्य महासंघ नेपाल र चलचित्र विकास बोर्डको सहयोगमा कार्यक्रम हुने आयोजकले बताए।
नेपाल पर्यटन बोर्डमा आइतबार दिउँसो भएको कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले सहकार्यमा एयरलाइन्स कम्पनी पनि सहभागी हुन सक्ने सम्भावना रहेको बताए।
कार्यक्रमको लागि एक अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिए पनि हालसम्म नेपालले ४४ करोड रुपैयाँ खर्च गर्नुपर्ने अनुमान गरिएको छ। राज्यले कार्यक्रमको लागि १ अर्ब खर्च गर्दैछ भन्ने हाल्लाको पछि नलाग्न जोशीले आग्रह गरे।
आइफा अवार्डले नेपालको पर्यटन बिकासमा सहयोग गर्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै विश्वभर नेपालको प्रचार हने भएकोले कार्यक्रमको बिरोध नगर्न आयोजकले अनुरोध गरेका हुन्। बोर्डका कार्यकारी निर्देशक जोशीले भने, ‘भिजिट नेपाल २०२० को पूर्व सन्ध्यामा रहेको बेला विश्वभर हेरिने आइफा अवार्डले भारतीय कार्यक्रमको मात्र नभई नेपाल र काठमाडौँको पनि प्रचार हुन्छ।’
विभिन्न देशमा आयोजना हुँदै आएको आइफा अवार्ड सन् २००० बाट सुरु भएको हो। नेपालमा हुन लागेको २० औँ आइफा अवार्डका लागि ६ सय पाहुना नेपाल आउने अनुमान गरिएको छ। कार्यक्रममा सहभागी हुन आउने पाहुनाको खाने, बस्ने र यातायात लगायतका सम्पूर्ण खर्च नेपालले नै व्यवस्था गर्नुपर्ने छ।देशसञ्चारबाट
तपाइँको प्रतिक्रिया