पुनर्निर्माणका लागि खटिएका १९ जना प्राविधिक कारबाहीमा

काठमाडौं, असार १५ – भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा पुनर्निर्माणका लागि खटिएका १९ जना प्राविधिक कारबाहीमा परेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १९ जना प्राविधिकलाई कारबाही गरेको हो । गैरकानुनी कार्यमा संलग्न रहेको भन्दै उनीहरुलाई कारबाही गरिएको प्राधिकरणले जनाएको छ ।
कारबाहीमा पर्नेमा १२ जना इञ्जिनियर, पाँच जना सब–इञ्जिनियर र दुई जना सहायक सब–इञ्जिनियर छन् । कारबाहीमा परेका प्राविधिकको करार सम्झौता भङ्ग भएको छ ।कारबाहीमा पर्नेमा नुवाकोटमा कार्यरत आठ जना, काभ्रेमा कार्यरत तीन जना, सिन्धुपाल्चोकमा कार्यरत दुई जना, दोलखामा कार्यरत दुई जना, धादिङमा कार्यरत दुई तथा भोजपुर र सोलुखुम्बुमा कार्यरत एक एक जना रहेका छन् ।
पुनर्निर्माणमा खटिएका प्राविधिकले भूकम्प प्रभावितसँग उल्टै रकम असुल गरेको, दुःख दिएको, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर किर्ते गरी हाजिर सिफारिस गर्ने गरेको, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ र जिल्ला आयोजना कार्यान्वयन इकाइले दिएका निर्देशन पालना नगरेका कारण कारबाही गरिएको पनि प्राधिकरणले जनाएको छ ।
तपाइँको प्रतिक्रिया