‘एक प्रहरी एक बिरुवा’ अभियान, ४०० बिरुवा रोपियो

बैतडी,असार १५ -जिल्ला प्रहरी कार्यालय बैतडीले ‘एक प्रहरी एक बिरुवा’ रोप्ने अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत शनिबार ४०० बिरुवा रोपिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । वातावरण संरक्षण गर्ने उद्देश्यसहित जिल्लामा रहेका ४०० प्रहरीले सरकारी कार्यालय, सार्वजनिक स्थान र खाली रहेका क्षेत्रमा फलफूल तथा जडीबुटीका बिरुवा रोपेका हुन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत २५० प्रहरी र अन्य प्रहरी युनिटमा १५० गरी उक्त सङ्ख्यामा बिरुवा रोपिएका उनले बताए ।
उक्त अभियानमा बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, जिल्ला न्यायाधीश ईश्वरीप्रसाद भण्डारी, समन्वय उपप्रमुख धनबहादुर बोहरा, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापालगायतको उपस्थिति थियो ।
वन विनाश र जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्नेदेखि वातावरणीय सन्तुलन बिग्रेकाले वृक्षरोपण गर्न आवश्यक भएकाले बिरुवा रोप्ने यो अभियान सञ्चालन गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए । “प्रहरीले मात्र होइन, सबैले एकएक बिरुवा रोपेर हुर्काउन सके पर्यावरण स्वच्छ राख्न सहयोग पुग्ने र यो अभियान मात्र रहेको सबै नागरिक जागरुक भएर वृक्षरोपणमा सहभागी भए वातावरणलाई सफा, स्वच्छ, निर्मल राख्नुका साथै भावी पुस्ताका लागि सम्पत्ति बन्ने डिल्लीनारायण पाण्डेयले बताए ।
जेठ अन्तिम साता बैतडी प्रहरी प्रमुख भएर आएका पाण्डेयले जिल्लालाई नमूनायोग्य बनाउने बताए । प्रहरी र समुदाय मिलेर मात्र समुन्नत समाजको निर्माण हुने भएकाले सबैसँग हातेमालो गर्दै सामाजिक जिम्मेवारी निभाउने उनको भनाइ छ । प्रहरीले शान्ति सुरक्षासँगै समाजको वृहत्तर हितका लागि अन्य सामाजिक उत्तरदायित्व पनि निभाउँदै आएको छ । प्रहरीलाई डिभिजन वन कार्यालयले बिरुवा उपलब्ध गराएको हो ।
प्रहरीले चलाएको ‘एक प्रहरी, एक बिरुवा’ अभियानलाई जिल्लाका सरकारी एवं गैरसरकारी संस्थाका कर्मचारीले पनि साथ दिन सके उदाहरणीय काम हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । बिरुवाको महत्व सर्वसाधारणलाई बुझाउन सके वन विनाश रोकिनुका साथै जलवायु परिवर्तनको असरलाई कम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । रासस
तपाइँको प्रतिक्रिया