४० प्रतिशत मधुमेहका बिरामीको मृगौला फेल !

असार १२,काठमाडौं । खानपानमा सावधानी नअपनाउने र शारीरिक व्यायाम नगर्नेहरुमा मधुमेहको समस्या बढ्दो क्रममा रहेका वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. मधु भट्टराईले बताइन् ।
“पछिल्लो समय नेपाललगायत विश्वमा नै हरेक दिन मधुमेहका बिरामी बढिरहेका छन्” उनले भनिन् “मधुमेहको औषधी नियमित रुपमा सेवन गर्नुका साथै उचित खानपान, आँखा चेकजाँच गनुपर्छ, औषधोपचारद्वारा रोग नियन्त्रणमा राख्नुका साथै नियमित रूपमा मृगौलाको अवस्थाबारे विभिन्न परीक्षण गरेमा मिर्गौला बिग्रेर खतराबाट बच्न सकिन्छ ।”
वरिष्ठ मृगौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्लेले कुनै कुनै पनि मानिसमा मधुमेह देखिएको छ भने त्यो मानिसमा मिर्गौला फेल हुने दर बढी हुने बताए । “मधुमेहका बिरामीमा ४० प्रतिशतमा मिगौला फेल हुने गरेको पाईएको छ,” उनले भने, “लामो समयसम्म मधुमेह देखिएमा पनि मृर्गौला बिग्रने सम्भावना बढी हुन्छ । ”पछिल्लो समय हरेक परिवारमा एक जनामा मधुमेहबाट पीडित हुने गरेका डा. काफ्लेको भनाई छ ।
त्यसैगरी, नेपाल डाइबिटिज संघकी कोषाध्यक्ष डा. जया प्रधानले नेपालमा मात्र कुल जनसंख्याको ९.१ प्रतिशत मानिस मधुमेहबाट प्रभावित रहेको बताइन् । मधुमेह भएका विरामीले नियमित शारिरीक व्यायम गर्ने, घरमा बनाएका खानेकुरामा प्राथमिकता दिने, मैदाजन्य खानेकरा न्यूनीकरण गर्ने, शरिरमा चिनीको मात्रा घटाउने, धुम्रपान र मद्यपान सेवन नगर्ने गरेमा मधुमेह नियन्त्रण गर्न सकिने डा. प्रधानको भनाई छ ।
विश्व स्वास्थ्य संगठनले सन् २०१६ मा गरेको सर्वेक्षणअनुसार विश्वभर ३२ करोड ४० लाख मानिस यस रोगबाट पीडित छन् । बाह्रखरीबाट
तपाइँको प्रतिक्रिया